काठमाडौँ : नेपाल अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि उत्पन्न हुने सम्भावित चुनौती न्यूनीकरण गर्दै उपलब्ध अवसरको सदुपयोग गर्न अहिले देखि नै सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगतको ‘नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना तथा मझौला उद्यम अभिवृद्धि परियोजना’ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘अतिकम विकसित मुलुकबाट स्तरोन्नति सचेतना कार्यशाला’ मा उद्योगी, व्यवसायी, साना तथा मझौला उद्यम (एसएमई), तथा अन्य सरोकारवालाले संक्रमणकालका लागि तत्काल तयारी गर्नुपर्ने बताएका हुन् ।
सो अवसरमा बोल्दै महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारको आग्रहपछि तत्कालका लागि एलडीसीबाट स्तरोन्नति पर सर्न सक्ने भउपनि त्यसपछिको व्यापारिक तथा अन्य सुविधामा हुने सम्भावित परिवर्तनका कारण नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता कायम राख्न अहिलेबाटै स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक रहेको बताउनु भयो । यस अघि प्राप्त तयारी अवधिको अपेक्षित उपयोग हुन नसकेको उल्लेख गर्दै उहाँले अब उपलब्ध हुने थप समयलाई प्रभावकारी रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । “ पर सरेको समय तत्काल आइहाल्छ ।
स्तरोन्नतिपछि सुविधा क्रमशः हट्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने आधार उत्पादन लागत, गुणस्तर र दक्षता नै हो । त्यसैले सरकारले यस्ता क्षेत्रमा तत्काल सुधार गर्दै अघि बढाउनुपर्दछ । निजी क्षेत्रले पनि सुविधा आधारित प्रतिस्पर्धाबाट क्षमता आधारित प्रतिस्पर्धातर्फ अघि बढ्दै उत्पादनको गुणस्तर, प्रविधि, मूल्य शृंखला र बजार विविधीकरणमा लगानी बढाउनुपर्दछ ।” अध्यक्ष श्रेष्ठले भन्नु भयो ।
कार्यक्रममा महासंघ बागमती प्रदेशका अध्यक्ष बेद बहादुर श्रेष्ठले एलडीसी स्तरोन्नतिको प्रभाव प्रदेश तथा स्थानीय तहमा रहेका उद्योग व्यवसायसम्म पुग्ने भएकाले यसबारे निजी क्षेत्रलाई समयमै सचेत र तयार बनाउनुपर्ने धारणा राख्नु भयो । उहाँले सरकार, निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य बढाउँदै स्तरोन्नतिलाई चुनौतीका रूपमा मात्र नभई नयाँ अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।



