२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

चार वर्षमा कांग्रेसको आम्दानीभन्दा खर्च ९ करोड बढी

images

  • २०८३ असोज १९, सोमबार
  • 231
    SHARES
  • चार वर्षमा कांग्रेसको आम्दानीभन्दा खर्च ९ करोड बढी

    काठमाडौं : नेपाली कांग्रेसले चार आर्थिक वर्षमा २५ करोड २१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको भए पनि खर्च भने ३४ करोड ६९ लाख रुपैयाँभन्दा बढी गरेको छ। आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्मको लेखापरीक्षित विवरणअनुसार कांग्रेसको खर्च आम्दानीभन्दा करिब ९ करोड ४८ लाख रुपैयाँ बढी देखिएको हो।

    कांग्रेसको १५ औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा पार्टीको चार वर्षको आय–व्यय विवरण समेटिएको छ। विवरणअनुसार पार्टीको आम्दानी र खर्चमा आर्थिक वर्षअनुसार ठूलो उतारचढाव देखिएको छ।

    आर्थिक वर्ष २०७८/७९ मा कांग्रेसले १४ करोड ८९ लाख ९४ हजार ८६ रुपैयाँ आम्दानी गरेको थियो। सोही वर्ष खर्च १७ करोड ९० लाख ७८ हजार २ सय २१ रुपैयाँ पुगेको थियो। आर्थिक वर्ष २०७९/८० मा पार्टीको आम्दानी घटेर ३ करोड ६४ लाख ७६ हजार २ सय ९७ रुपैयाँमा सीमित भयो। तर खर्च भने ७ करोड ९९ लाख ९५ हजार १ सय २१ रुपैयाँ पुगेको थियो।

    त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा कांग्रेसको आम्दानी २ करोड ५९ लाख ८७ हजार ७७५ रुपैयाँ र खर्च ४ करोड ९१ लाख ५६ हजार ३ सय ७५ रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा भने पार्टीको आम्दानी बढेर ३ करोड ८८ लाख १० हजार ६ सय ३२ रुपैयाँ पुगेको थियो। सोही वर्ष खर्च ३ करोड ८६ लाख ८३ हजार ७ सय ७६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

    सदस्यता र लेवीबाट ११ करोडभन्दा बढी आम्दानी : 

    कांग्रेसको नियमित आम्दानीका प्रमुख स्रोतमा सदस्यता, लेवी तथा नवीकरण शुल्क, चन्दा तथा सहयोग, प्रकाशन बिक्री र लगानीबाट प्राप्त आम्दानी रहेका छन्। चार आर्थिक वर्षमा सदस्यता, लेवी तथा नवीकरण शुल्कबाट कांग्रेसले ११ करोड ३८ लाख ४ हजार ५ सय १९ रुपैयाँ आम्दानी गरेको छ।

    त्यस्तै, चन्दा तथा सहयोगबाट १२ करोड ६७ लाख ५ हजार १७ रुपैयाँभन्दा बढी प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै सदस्यता, लेवी तथा नवीकरण शुल्कबाट २ करोड ६५ लाख ४२ हजार ५५ रुपैयाँ संकलन भएको थियो। सोही वर्ष चन्दा तथा सहयोगबाट १ करोड १९ लाख १२ हजार १ रुपैयाँभन्दा बढी प्राप्त भएको थियो।

    निर्वाचन र अधिवेशनमा बढी खर्च :

    कांग्रेसको खर्चमा निर्वाचन, अधिवेशन तथा सम्मेलन र कार्यालय सञ्चालन मुख्य क्षेत्रका रूपमा देखिएका छन्।

    आर्थिक वर्ष २०७८/७९ मा अधिवेशन तथा सम्मेलनका लागि मात्रै १२ करोड २१ लाख ९७ हजार ७ सय ७ रुपैयाँ खर्च भएको थियो। सोही वर्ष निर्वाचनमा १ करोड १५ लाख ६५ हजार २ सय  १० रुपैयाँ खर्च भएको थियो। आर्थिक वर्ष २०७९/८० मा निर्वाचन खर्च बढेर ३ करोड ८८ लाख ५७ हजार ९ सय ९३ रुपैयाँ पुगेको थियो। उक्त वर्ष कार्यालय सञ्चालनमा ३ करोड २२ लाख ५० हजार ४ सय ३२ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

    आर्थिक वर्ष २०८०/८१ मा कार्यालय सञ्चालन खर्च ४ करोड ५४ लाख ६७ हजार ९०० रुपैयाँ पुगेको थियो। त्यसपछिको आर्थिक वर्ष २०८१/८२ मा कार्यालय सञ्चालनमा ३ करोड ३५ लाख ३१ हजार ७ सय ७ रुपैयाँ खर्च भएको छ।

    चार वर्षको लेखापरीक्षित आर्थिक विवरण प्रस्तुत गर्दै कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक व्यवस्थापनलाई पारदर्शी, जिम्मेवार र संस्थागत बनाउनुपर्नेमा जोड दिएका छन्। प्रतिवेदनमा पार्टीको आर्थिक स्रोतलाई निर्धारित उद्देश्यअनुसार परिचालन गर्ने तथा आम्दानी र खर्चको व्यवस्थित अभिलेख राख्ने विषयलाई प्राथमिकता दिइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ