काठमाडौँ : जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा स्वर्ण पदक भारतले जितेको छ। आज निशिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले पाकिस्तानलाई १९ रनले पराजित गरेको हो।
यस्तै, भारतले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९२ रन मात्र बनाउन सक्यो, जसमा पाकिस्तानका लागि हसन नवाजले सर्वाधिक ९६ रन बनाएका थिए । बलिङमा भारतका अक्षर पटेल, वाशिङ्गटन सुन्दर र शिवम दुवेले २/२ विकेट लिएका थिए।
यस अघि, टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ११ रन मात्र बनाएको थियो,जसमा भारतका लागि सर्वाधिक अभिषेक शर्माले ६१ रन , तिलक वर्माले ५१ रन बनाएका थिए । बलिङमा पाकिस्तानका अहमद दानियाल र अराफत मिन्हासले २/२ विकेट लिएका थिए।
जितसँगै भारतले एसियाली खेलकुदको पुरुष क्रिकेटमा लगातार दोस्रो पटक स्वर्ण पदक जित्न सफल भएको छ भने पाकिस्तानले रजत पदकमै चित्त बुझाएको छ। यसैगरी आजै बिहान भएको तेस्रो स्थानको प्रतिस्पर्धा (काँस्य पदक) मा श्रीलङ्काले बङ्गलादेशलाई ६३ रनले पराजित गर्दै काँस्य पदक पक्का गर्यो।
प्रतियोगितामा नेपाली टोली क्वाटरफाइनलसम्म पुग्न सफल भए पनि श्रीलङ्कासँगको निर्णायक खेल वर्षाका कारण रद्द भएपछि प्रतियोगिताबाट बाहिरिनुपरेको थियो।