काठमाडौँ : कामना सेवा विकास बैंक लिमिटेडको साख मूल्याङ्कन (क्रेडिट रेटिङ) मा स्तरोन्नति भएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकको साख क्षमता मूल्याङ्कन गर्दै यसअघिको ‘केयर–एनपी BB+ (इस्युअर)’ रेटिङलाई परिमार्जन गरी ‘केयर–एनपी BBB– (इस्युअर)’ प्रदान गरेको छ।
यस रेटिङ प्राप्त गर्ने संस्थालाई वित्तीय दायित्व समयमै वहन गर्न सक्ने मध्यम स्तरको सुरक्षा भएको र न्यूनतम क्रेडिट जोखिमयुक्त संस्थाका रूपमा वर्गीकरण गरिन्छ।
बैंकको पूँजीकोषको सुदृढीकरण, कर्जाको गुणस्तरमा ल्याइएको सुधार, अनुभवी सञ्चालक समिति तथा कुशल व्यवस्थापन टोलीका कारण यो सफलता मिलेको बैंकले जनाएको छ। साथै, खुद मुनाफामा वृद्धि, व्यवसाय विस्तार, निक्षेप संरचनामा आएको सकारात्मक परिवर्तन, बलियो तरलता अवस्था र बजार हिस्सा जस्ता प्रमुख सूचकहरूलाई आधार मानेर रेटिङ बढाएको हो।
क्रेडिट रेटिङमा भएको यो सुधारले निक्षेपकर्ता, ऋणी, सेयरधनी, लगानीकर्ता तथा नियामक निकायहरूप्रतिको विश्वास थप मजबुत हुने बैंकको अपेक्षा छ। यस स्तरोन्नतिले बैंकलाई कम लागतमा स्रोत परिचालन गर्न, संस्थागत निक्षेप आकर्षित गर्न र व्यावसायिक साझेदारी विस्तार गर्न सहज हुने विश्वास लिइएको छ।
कामना सेवा विकास बैंकले ‘फ्युचर रेडी’ अवधारणा अनुरूप सुरक्षित, उत्तरदायी, प्रविधिमैत्री र दिगो बैंकिङ प्रणालीमार्फत दीर्घकालीन संस्थागत सुदृढीकरण र व्यवसाय विस्तारमा निरन्तर जोड दिँदै आएको छ।