काठमाडौं : नेपाल राष्ट्र बैंकले चाडपर्वलाई मात्र लक्षित गरी मिति तोकेर नयाँ नोट बाँड्ने पुरानो परम्परामा फेरबदल गरेको छ। यसपालिको दसैंमा केन्द्रीय बैंकले छुट्टै औपचारिक सूचना जारी नगरी आफ्नो नियमित कार्यालय समयभित्रै खुद्रा तथा नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार, नयाँ नोट सटही प्रक्रियालाई अब कुनै खास चाडपर्व वा समुदाय विशेषमा सीमित नराखी केन्द्रीय बैंकको दैनिक सेवाकै रूपमा निरन्तरता दिन लागिएको हो। बजारको वास्तविक आवश्यकता र मागका आधारमा जुनसुकै समयमा नोट सटही गर्न सकिने गरी यो नयाँ अभ्यास थालिएको उहाँले जानकारी दिनुभयो।
केन्द्रीय बैंकसँग पर्याप्त मात्रामा नोट मौज्दात रहेकाले सर्वसाधारण तथा व्यवसायीलाई माग बमोजिम सटही सुविधा दिइने राष्ट्र बैंकले जनाएको छ। मौज्दात रहेसम्म नयाँ नोट र त्यसपछि सफा (सुकिला) नोट उपलब्ध गराइने योजना छ।
साथै, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले पनि सटहीका लागि राष्ट्र बैंकबाट नयाँ नोट लगिसकेकाले ग्राहकहरूले ती संस्थाबाटै सेवा लिन सक्नेछन्। हाल राष्ट्र बैंकको बैंकिङ काउन्टरबाट व्यक्ति वा व्यवसायीले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट दुई बण्डलसम्म सटही गर्न सक्ने व्यवस्था मिलाइएको छ।