इटहरी — कोशी प्रदेशका युवाहरूलाई स्वदेशमै रोजगारीको अवसरसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित होटल सोल्टीमा आजदेखि मेलाको औपचारिक शुभारम्भ गरिएको हो।
'सीप र रोजगारी : साझा जिम्मेवारी' भन्ने मुख्य नाराका साथ सञ्चालनमा आएको यो मेला आगामी असोज २० गतेसम्म (कुल ७ दिन) चल्नेछ।
नेपालमै उत्पादकत्व बढाउन र युवाहरूलाई आत्मनिर्भर बनाउनका लागि श्रम बजारको आवश्यकता अनुसारको सीपमूलक तालिम तथा रोजगारका अवसरहरू उपलब्ध गराउनु मेलाको प्रमुख उद्देश्य रहेको छ। मेलाले रोजगारदाता कम्पनीहरू र कामको खोजीमा रहेका दक्ष तथा अदक्ष युवाहरूबीच सेतुका रूपमा काम गर्ने आयोजकले जनाएको छ।