काठमाडौं : नेपाली सेनामा परिमार्जित र आकर्षक शैलीको 'प्रधानसेनापति ट्रफी २०८३' औपचारिक रूपमा सुरु भएको छ। सोमबार लगनखेलस्थित सैनिक खेल मैदानमा आयोजित विशेष समारोहका बीच प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको उद्घाटन गरे।
सैन्य संगठनभित्र लुकेर रहेका प्रतिभाशाली खेलाडीहरूको खोजी गर्ने, उनीहरूको क्षमतालाई थप तिखार्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने योग्य खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ यो ट्रफी आयोजना हुँदै आएको छ। सेनाले विक्रम संवत् २०६५ देखि नियमित रूपमा यो प्रतियोगिता सञ्चालन गर्दै आएको छ।
यस वर्ष प्रतियोगितामा एथलेटिक्स, पौडी, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी कुल ८ विभिन्न खेल विधाहरू समावेश गरिएका छन्। प्रतियोगितामा पृतना तथा बाहिनीअन्तर्गतका कुल १४ टोलीहरूबीच उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ।
उद्घाटनकै दिन आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा महिलातर्फ मध्य पूर्वी पृतनाकी प्युठ निर्मला केसी प्रथम भइन् भने पुरुषतर्फ उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढाले पहिलो स्थान हासिल गरे।