काठमाडौँ :अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न भागमा विद्युत् प्रसारण तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेको छ। संरचनामा क्षति पुग्दा धेरै ठाउँमा बत्ती गएको छ भने नदीहरूमा आएको भीषण बाढीका कारण मुख्य जलविद्युत् आयोजनाहरूबाट उत्पादन पूर्ण रूपमा बन्द भएको छ।
सबैभन्दा बढी प्रभावित कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मा खण्डका २१ र २२ नम्बर टावरमा क्षति पुगेको छ। कुश्मा–नयाँबुटवल खण्डमा पनि प्राविधिक समस्या (फल्ट) आएको छ। यसबाट मात्रै करिब २०० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ।
बाढीका कारण जलविद्युत् आयोजनाहरू जोगिन कठिन भएपछि १४० मेगावाटको कालीगण्डकी 'ए', ७० मेगावाटको मध्यमस्र्याङ्दी, ६९ मेगावाटको मस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, ४४ मेगावाटको सुपर मादीसहित माथिल्लो मादी, नामार्जुन मादी, सेती नदी, अपर दोर्दी र मोदीजस्ता साना-ठूला आयोजनाको उत्पादन बन्द गरिएको छ।
विपद्का कारण २२० केभीदेखि ११ केभीसम्मका प्रसारण तथा वितरण लाइनका संरचना ढलेका र चुँडिएका छन्। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार क्षतिको विवरण संकलन गर्ने र वैकल्पिक माध्यमबाट विद्युत् सञ्चालन गर्ने काम भइरहेको छ।
"विद्युत् आपूर्ति यथाशीघ्र सञ्चालन गर्न प्राविधिक टोलीहरू रातदिन परिचालन गरिएका छन्," कार्यकारी निर्देशक श्रेष्ठले भने, "जहाँ सम्भव छ, त्यहाँ वैकल्पिक फिडरबाट बत्ती दिने व्यवस्था मिलाएका छौँ।"
यद्यपि, मुख्य सडकहरू नै बाढीपहिरोले बगाएका कारण कतिपय दुर्गम स्थानमा मर्मत टोली र आवश्यक उपकरण पुऱ्याउन कठिन भइरहेको छ। सडक खुल्नासाथ ती क्षेत्रमा मर्मतको काम तीव्र पारिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले विपद्को यस घडीमा उपभोक्तालाई धैर्यधारण गर्न र लडेका पोल, खसेका तार वा क्षतिग्रस्त संरचनाको नजिक नजान विशेष अपिल गरेको छ।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com