मनाङ : लगातारको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मनाङ जिल्लामा विद्युत् तथा सञ्चार सेवा पूर्ण रूपमा प्रभावित भएको छ। पहिरोले ३३ केभी प्रसारण लाइनमा क्षति पुर्याएपछि सिङ्गो जिल्ला नै अन्धकारमय बनेको छ।
स्थानीय प्रशासनका अनुसार पहिरोका कारण पोल तथा तारमा क्षति पुग्दा नेपाल टेलिकमका सेवाहरू समेत अवरुद्ध हुन पुगेका छन्, जसले गर्दा स्थानीयवासी सञ्चार सम्पर्कबाट विच्छेद भएका छन्।
विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन प्राविधिकहरूको टोली खटाइएको छ। प्रतिकूल मौसम र भौगोलिक विकटताका बाबजुद पनि अवरुद्ध लाइन मर्मत गरी सेवा छिटोभन्दा छिटो सुचारु गराउन टोली निरन्तर खटिरहेको छ। पहिरो पन्छाउने र क्षति भएका पोलहरू मर्मत गर्ने काम तीव्र पारिएको जनाइएको छ।