म्याग्दी : लगातारको वर्षापछि खसेको पहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ठूलो जनधनको क्षति भएको छ। पहिरोमा परी हालसम्म चार जनाको मृत्यु भइसकेको छ भने दर्जनभन्दा बढी घरहरू विस्थापित भएका छन्।
गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार वडा नम्बर ३ दानामा घर पुरिँदा दुई जना र वडा नम्बर ५ मा पहिरोमा परेर दुई जना गरी चार जनाको ज्यान गएको हो। "पालिकाभरिको अवस्था निकै नाजुक छ," अध्यक्ष पुनले भने, "सबैतिर पहिरो खसेकाले तत्काल स्थलगत रूपमा उद्धार टोली पुग्न सकेको छैन। हेलिकप्टरमार्फत उद्धारका लागि पहल भइरहेको छ।"
सडक र सञ्चार सम्पर्क विच्छेद :
विभिन्न ठाउँमा गएको पहिरोले सडक सञ्जाल पूरै ठप्प पारेको छ। साथै, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा प्रभावित क्षेत्रसँगको सम्पर्क टुटेको छ। सञ्चार सेवा नहुँदा क्षतिको वास्तविक विवरण सङ्कलन गर्न र उद्धार कार्य अघि बढाउन कठिन भइरहेको गाउँपालिकाले जनाएको छ। अहिलेसम्म प्राप्त प्राथमिक जानकारी अनुसार १० देखि १२ वटा घर पहिरोले पुरिएका वा बगाएका छन्।
पोखरेबगरको पुल उच्च जोखिममा, माथिबाट खसेको पहिरोले बढी क्षति :
लगातारको कटानका कारण पोखरेबगरस्थित पुल ढल्ने वा बग्ने उच्च जोखिममा परेको छ। नदीले पुलको दुवैतर्फको जग कटान गरिरहेकाले आवतजावत जोखिमपूर्ण बनेको छ।
स्थानीय बस्तीहरूमा कालीगण्डकीको कटानभन्दा पनि डाँडामाथिबाट खसेको लेदोसहितको पहिरोले बढी विनाश निम्त्याएको छ। वडा नम्बर २ र ३ मा कालीगण्डकी नदीको कटानले असर पुर्याएको छ भने वडा नम्बर ५, ७ र ८ मा बस्तीमाथिबाट खसेको पहिरोले धेरै क्षति गरेको अध्यक्ष पुनले जानकारी दिए।
फिलहाल प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय भइरहेको छ।