काठमाडौँ : पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा भीषण वर्षा दर्ता भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपलब्ध गराएको विवरण अनुसार पाल्पाको अर्चले मापन केन्द्रमा सबैभन्दा धेरै २४३.४ मिलिमिटर वर्षा भएको छ, जसलाई मौसम विज्ञानको भाषामा ‘अति भारी वर्षा’ मानिन्छ।
पाल्पामै रहेको गण्डकोट मापन केन्द्रमा पनि १५२.२ मिलिमिटर वर्षा मापन गरिएको छ। चार प्रदेशका विभिन्न स्थानमा १०० मिमिभन्दा बढी वर्षा भएको छ।
पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो भूभागमा भारी वर्षा भएको छ। १०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएका मुख्य स्थानहरू।
-
लुम्बिनी प्रदेश : अर्घाखाँची (१५७ मिमि), सिमलपानी (१३३.२ मिमि), सन्धिखर्क (११३.६ मिमि), ढकेरी (१२६.६ मिमि), कोहलपुर (११७.६ मिमि), बैजापुर (११२ मिमि), नेपालगन्ज (१११.६ मिमि), गुल्मीको भर्से (१०९.६ मिमि) लगायत बाँकेका अन्य केन्द्रहरू।
-
गण्डकी प्रदेश : स्याङ्जाको चापाकोट (१२५ मिमि), पर्वतको पचासे (१२२ मिमि), देउराली नवलपुर (१११.४ मिमि), स्याङ्जाको पञ्चमूल (११०.२ मिमि), चितवनको चर्छरे (११०.४ मिमि), दमौली (१०५.८ मिमि)।
-
बागमती प्रदेश : काभ्रेको पनौती (१३४.८ मिमि), रोशी (११२.६ मिमि), चितवनको माढी (११३.२ मिमि), सिन्धुपाल्चोकको बाहुनेपाटी (१०५.२ मिमि)।
-
कोशी प्रदेश : पेकरनास (११८.४ मिमि), इलामको कन्याम (१०६.४ मिमि), सोलुखुम्बुको सल्लेरी (१०४.२ मिमि)।
कोशीदेखि लुम्बिनी प्रदेशका अन्य क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा दर्ता भएको छ।
मौसम विज्ञान विभागको मानक अनुसार वर्षाको मापन निम्न अनुसार गरिन्छ।
-
हल्का वर्षा : १० मिलिमिटरसम्म
-
मध्यम वर्षा : १० देखि ५० मिलिमिटरसम्म
-
भारी वर्षा : ५० देखि १०० मिलिमिटरसम्म
-
धेरै भारी वर्षा : १०० देखि २०० मिलिमिटरसम्म
-
अति भारी वर्षा : २०० मिलिमिटरभन्दा माथि
शनिबारसम्म पश्चिमी भेगमा झन् ठूलो वर्षाको जोखिम :
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार र शनिबार देशको पश्चिमी भूभागमा मनसुनी गतिविधि अझै सक्रिय हुने देखिन्छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका क्षेत्रहरूमा शुक्रबार साँझ र शनिबार थप भारी वर्षाको सम्भावना रहेको छ।
सोमबारदेखि भने वर्षाको क्रम क्रमश: घट्दै जाने र असोज १३ गतेदेखि मौसम पूर्ण रूपमा सफा हुने पूर्वानुमान छ। नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।




