काठमाडौँ : अवैध रुपमा १ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको अभियोगमा धरानबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ का ज्योति शाही रहेका छन्। विशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले उनलाई धरानको खैरेनीबाट बिहीबार अपराह्न पौने ५ बजे नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार शाहीले कूल १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रुपैयाँ बराबरको गैरकानुनी हुण्डी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शाहीले अन्य केही व्यक्तिहरूसँग मिलेर घरेलु तथा साना उद्योग कार्यालय इटहरीमा वैधानिक रुपमा मनी ट्रान्सफर दर्ता गराई सोही कम्पनीको आडमा हुण्डीको अवैध धन्दा चलाउँदै आएका थिए।



