मङ्सिर २, जाजरकोट : चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ। भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो।
डुमे दमका दीर्घरोगी पनि हुनुहुन्थ्यो। त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उहाँको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो। मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उहाँको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताउनुभयो।
त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ। यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो। एक साताभित्रै चिसोले ७ जना वृद्धवृद्धाको ज्यान गइसकेको छ।



