काठमाडौँ : दुई कम्पनीको लाभांश प्राप्त गर्ने आज (असोज ७ गते) अन्तिम दिन रहेको छ जसमा सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्स लिमिटेड रहेका छन्।
दुवै कम्पनीले साधारणसभा तथा लाभांश वितरणको प्रयोजनका लागि भोलि असोज ८ गते ‘बुक क्लोज’ गर्दैछन्। त्यसैले आजसम्म बजारमा शेयर कारोबार गरी कायम रहने शेयरधनीहरू मात्रै कम्पनीको लाभांश पाउन र साधारणसभामा भाग लिन योग्य मानिनेछन्।
सांग्रिला डेभलपमेन्ट बैंक :
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २२ औँ वार्षिक साधारणसभा आगामी असोज २२ गते बोलाएको छ। काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १० बजेदेखि सभा सुरु हुने बैंकले जनाएको छ।
उक्त सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ। यसअन्तर्गत ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। बैंकको चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ रहेको छ।
स्नो रिभर्स :
त्यसैगरी, स्नो रिभर्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा असोज २१ गते आयोजना गर्दैछ। काठमाडौँको नक्सालस्थित लिसरा रिसेप्सन्समा बिहान ८:३० बजेदेखि सभा प्रारम्भ हुनेछ।
सभामा गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीहरूलाई कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गरिनेछ।