काठमाडौँ : रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग प्राप्त हुने क्रम तीव्र बनेको छ। विपद्को यस घडीमा पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि सरकारी कोषहरूमा पनि ठूलो धनराशि जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सम्पूर्ण खातामा गरी हालसम्म १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १६७ रुपैयाँ मौज्दात रहेको छ।
कोषको मौज्दात अवस्था :
स्वदेशी मुद्रा (विभिन्न ९ वाणिज्य बैंक) : ११ अर्ब २७ करोड २ लाख ६० हजार ६ सय ८५ रुपैयाँ
अमेरिकी डलर खाता (हिमालयन र लक्ष्मी सनराइज बैंक) : २ करोड ४८ लाख ४ हजार ७ सय २ अमेरिकी डलर
यसअघि पनि सरकारले विपद् प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्य सञ्चालन गर्न उक्त कोषबाट १ अर्ब रुपैयाँ निकास गरिसकेको छ। बाँकी रहेको रकमबाट रसुवाका भोटेकोशी बाढीपीडितसहित देशका अन्य विपद् प्रभावितहरूलाई आवश्यक सहयोग, क्षतिपूर्ति र पुनर्निर्माणका कामहरू अघि बढाइने जनाइएको छ।