२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा सुधार, दुई महिनामा ६१ अर्ब कर्जा विस्तार

images

  • २०८३ असोज २, शुक्रबार
  • 271
    SHARES
  • वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा सुधार, दुई महिनामा ६१ अर्ब कर्जा विस्तार

    काठमाडौँ : चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिना (साउन र भदौ) मा वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा सकारात्मक सुधार देखिएको छ। यस अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले कुल ६० अर्ब ९७ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन्।

    नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असार मसान्तमा बैंकहरूको कुल कर्जा लगानी ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तसम्म आइपुग्दा १.१५ प्रतिशतले बढेर ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।

    बजारमा नयाँ दीर्घकालीन आयोजना वा ठूला परियोजनाबाट कर्जाको माग नआए पनि आसन्न चाडपर्वलाई लक्षित गरी उपभोग्य वस्तु आयातका लागि प्रतितपत्र (एलसी) खुल्ने क्रम बढेकाले कर्जा प्रवाहमा सुधार आएको बैंकरहरू बताउँछन्।

    नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार चाडपर्व नजिकिएसँगै बजारमा व्यापारिक गतिविधि र उपभोग्य सामानको आयात बढेकाले अल्पकालीन कर्जाको माग बढेको हो। साथै, पहिले नै प्रतिबद्धता जनाइएका कर्जाहरू भुक्तानी हुँदा पनि समग्र कर्जा विस्तारमा सहयोग पुगेको छ।

    कर्जा विस्तारमा ग्लोबल आईएमई अगाडि, ८ बैंकको भने घट्यो

    समीक्षा अवधिमा सबैभन्दा धेरै कर्जा विस्तार गर्नेमा ग्लोबल आईएमई बैंक पहिलो स्थानमा छ। बैंकले दुई महिनामा २० अर्ब १ करोड रुपैयाँ कर्जा बढाएर कुल लगानी ४ खर्ब ९६ अर्ब ८५ करोड रुपैयाँ पुर्‍याएको छ। त्यस्तै, दोस्रो धेरै कर्जा बढाउनेमा एभरेष्ट बैंक (१२ अर्ब ८८ करोड) र तेस्रो स्थानमा लक्ष्मी सनराइज बैंक (१० अर्ब ३१ करोड) रहेका छन्। अन्य बैंकहरूमा :

    • कुमारी बैंक: ७ अर्ब ६५ करोड

    • नबिल बैंक: ७ अर्ब ६ करोड

    • सिद्धार्थ बैंक: ४ अर्ब ८० करोड

    • माछापुच्छ्रे बैंक: ४ अर्ब ७४ करोड

    • एनएमबि बैंक: ४ अर्ब २९ करोड

    समग्र बैंकिङ प्रणालीको कर्जा बढे पनि ८ वटा बैंकको कर्जा प्रवाह भने ऋणात्मक (घटेको) छ। सबैभन्दा धेरै कर्जा घट्नेमा एनआईसी एशिया बैंक छ, जसको कर्जा ६ अर्ब ६९ करोड रुपैयाँले घटेर २ खर्ब ४ अर्ब ४४ करोडमा झरेको छ।

    यसैगरी सानिमा बैंकको ३ अर्ब ४६ करोड, राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब १ करोड, प्रभु बैंकको २ अर्ब ७९ करोड र प्राइम कमर्सियल बैंकको १ अर्ब ४१ करोड रुपैयाँ कर्जा घटेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (५३ करोड), हिमालयन बैंक (३१ करोड) र स्ट्यान्डर्ड चार्टर्ड बैंक (२ करोड) को कर्जा पनि घटेको छ।

    पोर्टफोलियोमा ग्लोबल आईएमई शीर्ष स्थानमा

    भदौ मसान्तसम्मको विवरण अनुसार कुल कर्जा लगानीको आकारमा ग्लोबल आईएमई बैंकले नबिल बैंकलाई पछि पार्दै पहिलो स्थान ओगटेको छ। दुई महिनामै कर्जा ह्वात्तै बढाएपछि ग्लोबल आईएमईको कर्जा लगानी ४ खर्ब ९६ अर्ब ८५ करोड पुगेको छ भने नबिल बैंक ४ खर्ब ९५ अर्ब ४ करोड रुपैयाँसहित दोस्रो स्थानमा छ।

    त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (३ खर्ब ४९ अर्ब ७९ करोड), राष्ट्रिय वाणिज्य बैंक (३ खर्ब ४३ अर्ब ४१ करोड), लक्ष्मी सनराइज बैंक (३ खर्ब ३० अर्ब ७७ करोड) र कुमारी बैंक (३ खर्ब १० अर्ब ४ करोड) क्रमश: शीर्ष स्थानमा रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ