काठमाडौँ : साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से बढेर बन्द भएको छ। आज नेप्से परिसूचक २५.५५ अंकको बढेर २ हजार ५ सय ८५ दशमलव ४ विन्दुमा पुगेको हो । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।
आज ३ सय ३६ कम्पनीको ४९ हजार ७४ पटकको कारोबारमा ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख ९५ हजार कित्ता शेयर कारोबार भएको छ भने गत शुक्रबार ४ अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार भएको थियो।
यस्तै, आज सेन्सेटिभ इण्डेक्स ४.३४ अंक, फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंक बढेको छ। आज १३ वटा उपसमूह मध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। साथै, आज २ सय २६ कम्पनीको शेयर मूल्य बढेको छ र ४७ कम्पनीको शेयर मूल्य घटेको छ।
यसगरी, आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा २४ करोड ९० लाख, लिबर्टी इनर्जीको करिब २४ करोड रुपैयाँ र सानिमा मिडिल तमोर हाइड्रोपावरको कारोबार रकम २० करोड रुपैयाँको शेयर कारोबार भएको छ। आज इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयर सर्वाधिक ६.४३ प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयर सर्वाधिक ८.२३ प्रतिशत घटेको छ।



