काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल टेलिकमले १० करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ। बुधबार आयोजित कार्यक्रममा माननीय सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाज्यू र सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलज्यूको उपस्थितिमा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ज्यूले उक्त रकमको चेक माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूलाई हस्तान्तरण गर्नुभयो ।
यसअघि नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग रकम हस्तान्तरण भइसकेको छ। साथै, बाढी प्रभावित सेवाग्राहीलाई नेपाल टेलिकमले ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको छ । कम्पनीको यस सहयोगले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन राहत, उद्धार तथा दीर्घकालीन पुनर्स्थापना कार्यमा उल्लेख्य योगदान पुग्ने विश्वास लिइएको छ ।