गोरखा : गोरखाको चुमनुब्री गाउँपालिका-४ स्थित नाम्रुङ खोलामा गएराति आएको बाढीले स्थानीय तीन घर बगाएको छ। राति करिब ३:३० बजे खोलामा अचानक आएको तीव्र बहावले नगु छिरिङ, उर्गीन लामा र लाक्पाभुटी लामाको घर पूर्ण रूपमा क्षति पुर्याएको गाउँपालिका अध्यक्ष निमा लामाले पुष्टि गरेका छन्।
अविरल वर्षाका कारण बढेको खोलाको बाढीले स्थानीय एक फलामको झोलुङ्गे/पैदल पुलमा समेत क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिएका छन्। बाढीले भौतिक संरचनामा क्षति पुर्याए पनि समयमै सजगता अपनाइएकाले कुनै मानवीय क्षति भने हुन पाएको छैन।
फिलहाल वर्षा रोकिएकाले खोलामा पानीको सतह बिस्तारै घट्दै गएको प्रहरीले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नदी तथा खोला तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।