काठमाडौँ : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीका कारण पुगेको ठूलो क्षतिपछि सुरक्षा निकाय तथा सरोकारवाला निकायहरू उद्धार र राहत कार्यमा निरन्तर खटिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण हालसम्म १ हजार ३ सय ३१ जनाको शव फेला परेको छ भने ५ हजार भन्दा बढी मानिसहरू अझै सम्पर्कविहीन छन्।
मृतक र बेपत्ताको अवस्था : प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विभिन्न जिल्लाबाट शवहरू सङ्कलन गरिएका छन्।
चितवन : ३६०
नवलपरासी (पूर्व) : २२२
नवलपरासी (पश्चिम) : २१९
नुवाकोट : १९५
रसुवा : १५६
गोरखा : ७४
धादिङ : ६७
तनहुँ : ३८
फेला परेका शवमध्ये ९८ वटाको पहिचान (सनाखत) भई आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। यस्तै, बेपत्ता हुनेहरूमा नुवाकोटबाट करिब २ सय ३ सय ४० जना, रसुवाबाट १ हजार ९ सय ६७ जना, ५ सय ८९ जना विदेशी नागरिक तथा १सय जना सुरक्षाकर्मी र सरकारी कर्मचारी रहेका छन्।
उद्धार र स्वास्थ्य सेवा : बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले चलाएको संयुक्त अभियानमार्फत हालसम्म १३ हजार १ सय १ जनाको जीवितै उद्धार गरिएको छ। जसमा :
सशस्त्र प्रहरी बल: ४,८७१ जना
नेपाली सेना: ४,१६२ जना
नेपाल प्रहरी: ४,०६८ जना
विपद्पछि घाइते तथा प्रभावित ५ हजार ९ सय २९ जनाले स्वास्थ्य उपचार प्राप्त गरेका छन्। नेपाली सेनाका टोलीबाट ३ हजार २ सय ९७ जना, सशस्त्र प्रहरीबाट २ हजार ३ सय १६ जना र विभिन्न अस्पतालहरूमार्फत ३ सय १६ जनाले उपचार सेवा पाएका हुन्।
राहत तथा पुनःस्थापना :
प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित राख्न काठमाडौँ, रसुवा, नुवाकोट र धादिङका ४१ वटा होल्डिङ सेन्टरहरूमा ३ हजार ९ सय ८२ जनालाई आश्रय दिइएको छ। राज्यका विभिन्न निकाय, स्थानीय तह तथा गैरसरकारी संस्थाहरूले विस्थापितहरूका लागि खाद्यान्न, बासस्थान र आधारभूत आवश्यकता पूरा गर्न राहत सामग्री वितरणलाई प्राथमिकता दिएका छन्। बेपत्ता भएकाहरूको खोजी कार्यलाई अझ व्यापक र प्रभावकारी बनाइँदै लगिएको छ।