काठमाडौँ : नेपाल-चीन सीमा नजिकै रहेको लेन्दे खोला हुँदै भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा जिल्लामा व्यापक भौतिक क्षति भएको छ। भदौ १० गते बुधवार बिहान साढे ८ बजेतिर आएको लेन्दे खोलाको बाढी बस्तीमा पस्दा करोडौँको धनमाल नष्ट हुनुका साथै सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको छ।
नेपाल विद्युत् प्राधिकरणको मिटर वितरण तथ्याङ्क अनुसार बाढीबाट कम्तीमा १५ सय घरधुरी प्रत्यक्ष रूपमा प्रभावित तथा क्षतिग्रस्त भएका छन्। जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीको प्रभाव नागरिकका निजी आवासमा मात्र सीमित नरही सार्वजनिक तथा शैक्षिक संरचनासम्म फैलिएको छ।
प्रारम्भिक विवरण अनुसार बाढीले २८ वटा सरकारी तथा सार्वजनिक निकायका भवन र ८ वटा सामुदायिक विद्यालयका संरचनामा क्षति पुर्याएको छ। यसका साथै स्थानीय व्यापारिक तथा वित्तीय क्षेत्र पनि गम्भीर रूपमा प्रभावित भएको छ। १४ वटा बैङ्क तथा वित्तीय संस्थाका कार्यालय र १ वटा पेट्रोल पम्पमा क्षति पुगेको प्रशासनले जनाएको छ।
बाढीले जिल्लाका विभिन्न गाउँपालिकाहरू :
गोसाईंकुण्ड गाउँपालिका : वडा नम्बर २ को रसुवागढी, घट्टे खोला, टिमुरे र तातोपानी क्षेत्र बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन्। साथै वडा नम्बर ३ को लिङलिङ, मेदाङपुदुङ, रूँगा र वडा नम्बर ५ को स्याफ्रुवेशी तथा सानो भार्खुमा व्यापक क्षति पुगेको छ।
आमाछोदिङमो गाउँपालिका : वडा नम्बर १ को हाकुवेशी क्षेत्र बाढीबाट प्रभावित भएको छ।
कालिका गाउँपालिका : वडा नम्बर १ को गुम्चेतमा बाढीले भौतिक क्षति पुर्याएको छ।
उत्तर गया गाउँपालिका : वडा नम्बर १ को मैलुङ, सल्लेटार, सिम्लेपुछारका साथै वडा नम्बर ५ को माथिल्लो पहिरे, तल्लो पहिरे, खाल्टे, नौबिसे, कैदलेटार र बेत्रावती क्षेत्रमा ठुलो नोक्सानी भएको छ।
बाढीका कारण मुख्य सञ्जाल जोड्ने सडक तथा पुलहरू बगेका र भत्किएका छन्। बाटोघाटो अवरुद्ध हुँदा प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत सामग्री पुर्याउन र क्षतिको पूर्ण तथा अन्तिम विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको छ।