काठमाडौँ : भोटेकोशी तथा तटीय क्षेत्रमा आएको भीषण बाढी प्रभावितहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम संकलन तीव्र बनेको छ। कोष स्थापना भएको पहिलो ६ घण्टामै कुल २७ करोड ३३ लाख रुपैयाँ सहयोग रकम संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।
विभिन्न निजी तथा सरकारी संस्था, बैंक वित्तीय संस्था एवं उद्योग समूहहरूले अर्थमन्त्रीलाई भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
सहयोग गर्ने प्रमुख संस्था र योगदान रकम :
गोर्खा ब्रुअरी : १० करोड रुपैयाँ (सबैभन्दा बढी सहयोग)
नेपाल बैंक लिमिटेड : ३ करोड १ लाख रुपैयाँ
कुमारी बैंक : ३ करोड रुपैयाँ
राष्ट्रिय वाणिज्य बैंक : ३ करोड रुपैयाँ
नेपाल पूर्वाधार बैंक (निफ्रा) : २ करोड ५० लाख रुपैयाँ
एनआईसी एशिया बैंक: २ करोड २१ लाख रुपैयाँ
सारस वेवरेज (रेडबुल) : २ करोड रुपैयाँ
एनसेल : १ करोड रुपैयाँ
शिव शक्ति ग्रुप : ५१ लाख रुपैयाँ
रिलायन्स सुगर मिल तथा केमिकल इण्डष्ट्रिज : १० लाख रुपैयाँ
विपद्को यस कठिन समयमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्राप्त यस सहयोगले बाढीपीडित नागरिकहरूलाई तत्काल राहत पुर्याउन र प्रभावित क्षेत्रको पुनर्निर्माणमा ठूलो बल पुग्ने मन्त्रालयले जनाएको छ। कोषमा सहयोग जुट्ने क्रम अझै जारी छ।