काठमाडौँ : अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ टोलीले आज आफ्नो चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)को सामना गर्दैछ। डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने यस प्रतिस्पर्धा नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।
सिरिजको सेमिफाइनल यात्रा जीवितै राख्नका लागि नेपाल ‘ए’ लाई आजको खेल जित्नुपर्ने दबाब छ। सुरुआती दुई खेलमा लगातार पराजय व्यहोरेको नेपाली टोलीले अघिल्लो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो।
नेपाल हाल २ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ। अर्कोतर्फ, एसिटी लगातार तीन खेलमा हार व्यहोर्दै अंक तालिकाको पुछारतिर रहेको छ र पहिलो जितको खोजीमा छ।
नेपाल ‘ए’ टोलीमा अनिलकुमार शाह (कप्तान), कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री रहेका छन्।