काठमाडौँ : नेपाली बजारमा टाटा मोटर्सको नयाँ प्रिमियम इलेक्ट्रीक एसयूभी ‘सिएरा ईभी’ सार्वजनिक भएको छ। नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले काठमाडौँमा सुरु भएको ‘नाडा अटो शो २०२६’ को अवसर पारेर सिएरा ईभी प्रदर्शन गर्दै यसको औपचारिक प्रि-बुकिङ खुला गरेको हो। कम्पनीका अनुसार यो गाडीको डेलिभरी आगामी दशैँदेखि सुरु गरिनेछ।
नेपालको विद्युतीय सवारी (ईभी) बजारमा वर्चस्व जमाउँदै आएको टाटाले सिएरा ईभीको आगमनसँगै आफ्नो स्थितिलाई थप मजबुत बनाएको छ। सिप्रदीले हाल नेपाली बजारमा टियागो ईभी, पञ्च ईभी, नेक्सन ईभी र कर्भ ईभी सफलतापूर्वक बिक्री-वितरण गर्दै आएको छ। सिएरा ईभीको थपिसँगै कम्पनीको ईभी पोर्टफोलियो झन् बलियो बनेको छ।
नाडा अटो शोका क्रममा बोल्दै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (CEO) राजनबाबु श्रेष्ठले टियागो र पञ्च ईभीमा नेपाली ग्राहकले देखाएको विश्वासप्रति आभार व्यक्त गरे। उनले काठमाडौँका सडकदेखि देशका विकट भूगोलसम्म दिगो यातायात पुर्याउन टाटा ईभी अग्रणी रहेको उल्लेख गर्दै सिएरा ईभीले प्रिमियम एसयूभी खोज्ने ग्राहकका लागि नयाँ मापदण्ड खडा गर्ने विश्वास व्यक्त गरे।
विशेष गरी उत्कृष्ट कार्यक्षमता, फराकिलो इन्टेरियर र अत्याधुनिक प्रविधिसहित तयार पारिएको सिएरा ईभीमा २०५ मिलिमिटर (mm) को उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ। विशिष्ट डिजाइन र दैनिक व्यावहारिक प्रयोग चाहने ग्राहकहरूका लागि लक्षित यो गाडीले नेपालको विद्युतीय सवारी रूपान्तरणको यात्रामा अर्को ठूलो कोसेढुङ्गा थप्ने अपेक्षा गरिएको छ।
यसैबीच, कम्पनीले नाडा अटो शोलाई लक्षित गर्दै आफ्नो लोकप्रिय एसयूभी नेक्सनको नयाँ भेरियन्ट ‘नेक्सन ईभी रिलोड’ पनि सार्वजनिक गरेको छ। कम्पनीले यसको आधिकारिक मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको भए पनि नाडा अफरअन्तर्गत ग्राहकले ४२ लाख ४९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्।
यसका साथै, सिप्रदीले हालै बजारमा ल्याएका टियागो ईभी र पञ्च ईभीका फेसलिफ्ट मोडलहरूमा समेत १-१ लाख रुपैयाँको विशेष छुटको घोषणा गरेको छ। यो अफरअन्तर्गत नाडा अटो शोभरि ग्राहकहरूले पञ्च ईभी ३२ लाख ९९ हजार रुपैयाँ र टियागो ईभी २७ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्।