काठमाडौँ : रियलायबल नेपाल एग्रो लिमिटेडले नेपाली उपभोक्तालाई शुद्ध र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउने उद्देश्यका साथ नयाँ उत्पादन ‘स्वास्थ्य श्री प्रिमियम फस्ट प्रेस्ड मस्टर्ड आयल’ बजारमा सार्वजनिक गरेको छ। कृषि, उद्योग तथा व्यावसायिक क्षेत्रका अनुभवी व्यक्तित्वहरूको नेतृत्वमा स्थापित यस कम्पनीले नेपाली भान्सामा विश्वसनीय र प्राकृतिक विकल्प पुर्याउने लक्ष्य राखेको छ।
चितवनको खैरहनीमा अत्याधुनिक प्रविधियुक्त प्रशोधन प्लान्ट स्थापना गरी कम्पनीले यो तेलको उत्पादन सुरु गरेको हो। लोकल तोरीको सहज बजारीकरण, किसानहरूलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहन र चितवनको शुद्ध तोरीको तेल देशभरका उपभोक्तासम्म पुर्याउने कम्पनीको योजना छ। खैरहनीलाई देशकै भरपर्दो र प्रमुख तेल उत्पादन केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन सोचका साथ काम अघि बढाइएको छ।
कम्पनीका अनुसार यो तेल उत्कृष्ट तोरीका दानाबाट पहिलो एक्सपेलर प्रक्रिया (फस्ट प्रेसिङ) मार्फत मात्र उत्पादन गरिन्छ। यस प्रविधिमा पिनाबाट पुनः तेल निकालिने परिपाटी नहुने भएकाले तोरीको प्राकृतिक बास्ना, गुण र स्वाद पूर्ण रूपमा सुरक्षित रहन्छ। साथै, यसमा कुनै पनि प्रकारका रसायन वा प्रिजर्भेटिभ्स नमिलाइएकाले यसले दैनिक खानपानलाई स्वादिलो र स्वास्थ्यवर्धक बनाउन मद्दत पुर्याउँछ।
दैनिक उपभोग्य वस्तु र स्वास्थ्यप्रतिको सचेतना बढ्दै गएको वर्तमान अवस्थामा कम्पनीले शुद्धता र गुणस्तरलाई नै आफ्नो मुख्य आधार बनाएको छ। रियलायबल नेपाल एग्रोले यसअघि पनि ‘स्वास्थ्य श्री’ ब्रान्डमार्फत विभिन्न गुणस्तरीय खाद्य सामग्री नेपाली बजारमा पुर्याउँदै आएकोमा यो नयाँ तोरीको तेल सोही शृंखलाको निरन्तरता भएको स्पष्ट पारेको छ।