२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विद्युत् महसुलमा १३ प्रतिशत भ्याट लगाएकोमा कुलमान घिसिङको आपत्ति: "जनविरोधी निर्णय तत्काल फिर्ता लिन माग"

images

  • २०८३ साउन २३, शनिबार
  • 1.0K
    SHARES
  • विद्युत् महसुलमा १३ प्रतिशत भ्याट लगाएकोमा कुलमान घिसिङको आपत्ति: "जनविरोधी निर्णय तत्काल फिर्ता लिन माग"

    काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषि सिँचाइ, खानेपानी र घरायसी प्रयोजनको विद्युत्मा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको भन्दै त्यसको कडा शब्दमा आलोचना गरेका छन्।

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारको यो कदमलाई स्पष्ट रूपमा 'जनविरोधी' र 'दुर्भाग्यपूर्ण' भनेका छन्। आम नागरिक, किसान र दैनिक जीवनयापनसँग जोडिएका अति आवश्यक क्षेत्रमा करको भार थुपार्नुले सरकारको गलत प्राथमिकता प्रष्ट पारेको उनको ठहर छ।

    घिसिङले अघिल्लो कार्यकालको स्मरण गर्दै कृषि सिँचाइको महसुल प्रतियुनिट ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ र सामुदायिक खानेपानी लिफ्टिङको महसुल ९ रुपैयाँबाट ४ रुपैयाँ २० पैसा कायम गरिएको बताएका छन्। कृषि प्रधान देशमा सिँचाइका लागि विद्युत् निःशुल्क वा अत्यधिक सहुलियत दिनुपर्नेमा उल्टै १३ प्रतिशत भ्याट जोड्नु अनुचित रहेको उनको भनाइ छ।

    नेपाली भान्सामा एलपीजी ग्यासको अभाव भइरहेको वर्तमान अवस्थामा सरकारले इन्डक्सन चुल्होको प्रयोगलाई जोड दिनुपर्नेमा जोड दिँदै घिसिङले प्रश्न उठाएका छन् : "देशमा उत्पादित विद्युत् खेर फाल्ने अनि ग्यासमा लाइन लगाउने कस्तो विडम्बना हो?"

    उनले सरकारलाई ग्यास सिलिन्डरको साटो जनतालाई इन्डक्सन चुल्हो वितरण गर्ने खालका प्रभावकारी योजना ल्याउन समेत सुझाव दिएका छन्। सामान्य जनता र कृषकलाई कर लगाउनुको सट्टा ठूला उद्योगीहरूबाट 'डेडिकेटेड' र 'ट्रंक लाइन' बापतको अर्बौँ रुपैयाँ बक्यौता उठाउन सरकारले तदारुकता देखाउनुपर्ने घिसिङले उल्लेख गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ