काठमाडौँ : टोखा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को आफ्नो वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ। नगरपालिकाका अनुसार यस आवमा कुल विनियोजित बजेटको ६०.७६ प्रतिशत मात्रै खर्च हुन सकेको छ। असार २५ गते राती १२ बजेसम्मको तथ्याङ्कलाई आधार मान्दा चालु र पुँजीगततर्फको समग्र खर्च अवस्था यस्तो देखिएको हो।
बजेट र खर्चको विष्लेषण :
नगरपालिकाले चालु आर्थिक वर्षका लागि कुल १ अर्ब ८८ करोड २९ लाख ६९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। जसको खर्च विवरण विधागत रूपमा निम्नानुसार रहेको छ:
चालु खर्चतर्फ : कुल ८० करोड ३७ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएकोमा असार २५ गतेसम्म ५९ करोड ७६ लाख ६७ हजार रुपैयाँ (७४.३६ प्रतिशत) खर्च भएको छ।
पुँजीगत खर्चतर्फ : विकास निर्माण र पूर्वाधारका लागि १ अर्ब ७ करोड ९२ लाख ४५ हजार रुपैयाँ छुट्याइएकोमा जम्मा ५४ करोड ६५ लाख ६१ हजार रुपैयाँ मात्रै खर्च हुन सक्यो। यो कुल पुँजीगत बजेटको ५०.६४ प्रतिशत मात्रै हो।
विकास खर्च सुस्त हुनुका मुख्य कारणहरू :
नगरपालिकाको पुँजीगत खर्च आधा मात्रै हुनु र केही ठूला विकास आयोजनाहरू समयमै सम्पन्न हुन नसक्नुमा मुख्य दुई कारणहरू औंल्याइएको छ:
विश्वव्यापी भू-राजनीतिक प्रभाव: अन्तर्राष्ट्रिय असहज परिस्थितिका कारण बजारमा निर्माण सामग्रीको अभाव र अत्यधिक मूल्यवृद्धि हुँदा केही ठूला गौरवका आयोजनाहरू यस वर्ष अधुरै रहन पुगे। 'सुत्र' प्रणालीमा प्राविधिक समस्या: नेपाल सरकारले प्रयोग गर्ने स्थानीय तहको लेखा प्रणाली (सुत्र) मा प्राविधिक ढिलासुस्ती (Technical Slackness) देखिँदा काम सम्पन्न भइसकेका आयोजनाहरूको समेत समयमै भुक्तानी हुन सकेन।
"काम सकिएर भुक्तानीको प्रक्रियामा रहेका कतिपय आयोजना र कार्यक्रमहरू सरकारी सफ्टवेयर प्रणालीको प्राविधिक शिथिलताका कारण रोकिएका हुन्," टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए।



