काठमाडौँ : बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज फेरि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै दिउँसो ३ बजे बोलकबोल गर्ने जनाएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु मात्र सहभागी हुन पाउने यस प्रक्रियामा न्यूनतम १० करोडदेखि अधिकतम ५ करोडको गुणानुपातमा बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
बोलकबोल बहुब्याजदर प्रणालीमा हुने र सहभागी संस्थाहरुले विभिन्न दरमा प्रस्ताव गर्न सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ। २१ दिने अवधि रहने यस निक्षेप संकलन उपकरणको साँवा र ब्याज जेठ ७ गते भुक्तानी गरिनेछ।
हाल बैंकिङ प्रणालीमा कर्जाको माग कम भएकाले तरलता प्रशस्त देखिएको छ। यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरु न्यून ब्याजदरमै राष्ट्र बैंकलाई पैसा राख्न बाध्य छन्।



