काठमाडौँ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा सुरु गरिएको ‘रिलायबल समृद्धि योजना’ म्युचुअल फन्डमा इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हो। नेपालमै पहिलोपटक बीमा कम्पनीको कोष प्रवर्द्धनमा ल्याइएको यो योजना बन्दमुखी म्युचुअल फन्ड हो, जसको अवधि १० वर्षको रहेको छ।
योजना अनुसार कुल १० करोड इकाइ बिक्रीमा ल्याइएको छ, जसमा प्रतिइकाइ मूल्य १० रुपैयाँ तोकिएको छ। जसमध्ये १५ प्रतिशत कोष प्रवर्द्धकहरूलाई छुट्याइएको छ—रिलायबल नेपाल लाइफले १ करोड ४० लाख इकाइ र योजना व्यवस्थापक रिलायबल क्यापिटलले १० लाख इकाइ प्राप्त गर्ने छन्। बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि खुला गरिएको हो।
लगानीकर्ताहरूले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया नेपाल धितोपत्र बोर्डबाट अनुमोदित सी–आस्बा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाहरूको शाखा वा 'मेरो शेयर' सफ्टवेयरमार्फत अनलाइनबाट पनि सहजै गर्न सकिन्छ।
योजना सुचारु भएपछि इकाइहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबारयोग्य हुनेछन्। यो फन्डले आर्जन गरेको खुद मुनाफाको आधारमा लाभांश वितरण गरिनेछ, साथै बाँकी मुनाफा पुनः लगानीको लागि उपयोग गर्न सकिने सुविधा पनि समावेश गरिएको छ।



