२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चार दशकपछि धादिङको किन्ताङ खोलामा बेलीब्रिज

images

  • २०८० कात्तिक २०, सोमबार
  • 736
    SHARES
  • चार दशकपछि धादिङको किन्ताङ खोलामा बेलीब्रिज

    कात्तिक २०, धादिङ : धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेलीब्रिज निर्माण गरिने भएको छ। सडक खन्न सुरु गरेको करिब ४ दशकपछि खनियाँबास गाउँपालिकामा पर्ने किन्ताङ फेदीमा सिङ्गल बेलीब्रिज निर्माण सुरु गरिएको हो।

    ३९ दशमलव ६ मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौडाइको पुल निर्माणको काम सुरु गरिएको खनियाँबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो। पुलको दुवै भागमा फुटपाथ रहने र एकतर्फी मात्रै सवारी चल्ने गरी निर्माण थालिएको उहाँले जानकारी दिनुभयो।

    उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो मुख्य मार्ग हो। यो पुलले उत्तरी धादिङको रुवीभ्याली, गँगाजमुना, खनीयाँबास र नेत्रावती डब्जोङ गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेँसीसँग जोड्नेछ। पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गरेकामा खोलामा बेलिब्रिज बन्न थालेपछि उत्तरी क्षेत्रका स्थानीय खुसी भएका छन्।

    पुल बनेपछि जिल्लाको उत्तरी क्षेत्रका नागरिकको जनजीवन फेरिने आशा पलाएको गङ्गाजमुना गाउँपालिका–२ रिगाउँका राजु तामाङले बताउनुभयो। “पुल बनेपछि हामीले कति राहत पाउँछौँ कल्पना गर्नै सक्दैनौँ । चाँडै पुल बने हामी दुर्गममा बस्नेको जीवन फेरिन्छ”, उहाँले भन्नुभयो।

    किन्ताङ फेदीमा बन्दै गरेको बेलिब्रिज नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको हो। सो अस्थायी ब्रिज नेपाली सेनाको प्रविधिक सहयोगमा निर्माण भइरहेको छ। अहिले पुलको दायाँबायाँको जिप÷पिल्लरका लागि खाल्डो खन्ने काम भइरहेको छ। २ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण भइरहेको खनियाँबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले जानकारी दिनुभयो। 

    रुविभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ भन्नुभयो, “यो पुलले विटक गाउँमा आवतजावत गर्न सहजता थप्नेछ। तर त्यसभन्दा अगाडि पनि खोला खोँच छन्। त्यो ठाउँमा पनि पक्की पुल बनाउन सकियो भने विकट बस्ती लापा, तिप्लिङ र सेर्तुङलगायतका उत्तरी धादिङका स्थानीयलाई सहज हुनेछ।”

    उत्तरी धादिङ जोड्ने सडकको सबैभन्दा ठूलो मानिने किन्ताङ खोलामा पुल बने पनि त्यसभन्दा अगाडितिरका खोलामा पुल नहुँदा पूर्णरुपमा सहज बनिसकेको छैन। छोटो समयमै पार गर्न सकिने बाटोलाई पुल नहुँदा घण्टौँ समय लगाएर पुग्नुपर्ने बाध्यता भने कायमै छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ