२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भिजिबिलिटी सुधारको पहल: गौतमबुद्ध विमानस्थलमा आरएनपी-एआर प्रणाली लागू हुँदै

images

  • २०८१ पुस १६, मंगलबार
  • 1.4K
    SHARES
  • भिजिबिलिटी सुधारको पहल: गौतमबुद्ध विमानस्थलमा आरएनपी-एआर प्रणाली लागू हुँदै

    काठमाडौँ : भिजिबिलिटीको समस्या समाधान गर्न माघ १० (जनवरी २३) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी-एआर (रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स-अथोराइजेसन रिक्वायर्ड) प्रणाली लागू हुने भएको छ। यस प्रणालीमार्फत जहाजले ९ सय मिटरको न्यूनतम भिजिबिलिटीमा पनि उडान र अवतरण गर्न सक्नेछन्।

    विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार यो विधि भू-उपग्रहमा आधारित छ र उपकरण विमानस्थलमा नभई जहाजमै जडान हुन्छ। ए ३२० र ए ३३० स्तरका जहाजमा यो प्रणाली लागू गर्न सम्भव छ, तर सबै जहाजमा भने यो सुविधा उपलब्ध छैन।

    यसअघि लागू गर्ने भनिएको आईएलएस (इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम) प्रणालीलाई भारतले अनुमति नदिएपछि आरएनपी-एआर प्रणाली प्रयोगमा ल्याइएको हो। यो प्रणाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रयोगमा छ, तर गौतमबुद्ध विमानस्थलमा यसले अझ कम भिजिबिलिटीमा काम गर्नेछ।

    विदेशी एअरलाइन्सका लागि समय लाग्ने

    आरएनपी-एआर प्रणाली लागू भएपनि विदेशी एअरलाइन्सले उडान गर्न थप समय लाग्ने बताइएको छ। उनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरण र आफ्नो देशको प्राधिकरणबाट अनुमति लिनुपर्नेछ। साथै, पाइलटहरूलाई यस प्रणालीमा अवतरण गराउन तालिम (टेस्ट फ्लाइट) आवश्यक पर्छ।

    स्थानीय व्यवसायीको चासो

    स्थानीय व्यवसायीहरूले भने विमानस्थलको दिगो सञ्चालनका लागि आरएनपी-एआर प्रणालीमात्र पर्याप्त नभएको बताएका छन्। उनीहरूको अनुसार श्रम स्वीकृति, मेडिकल जाँच, भिसा र म्यानपावर कम्पनीका शाखा भैरहवामा खोल्न जरुरी छ। यसले यात्रुहरूको आवागमन सहज बनाउने र अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन मद्दत गर्ने व्यवसायीको भनाइ छ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले जाडो महिनामा मात्र हुस्सु लाग्ने हुँदा अन्य समयमा यात्रु अभावको बहानामा उडान रोक्न सकिने आशंका व्यक्त गरेका छन्।

    पर्यटन प्रवर्द्धनका लागि सुझाव

    पर्यटन व्यवसायीहरूले चीन, भियतनाम, म्यानमार, श्रीलंका, भुटान, जापान जस्ता बौद्धमार्गी बाहुल्य देशहरूसँग सिधा हवाई सम्पर्कका लागि उच्चस्तरीय पहल गर्न सरकारलाई सुझाव दिएका छन्। गौतमबुद्ध विमानस्थललाई प्रभावकारी बनाउन अनलाइन ई-भिसा, अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्रणाली र टिकट बिक्रीमा हुने कार्टेलिङ अन्त्य गर्न आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ।

    भिजिबिलिटीको समस्या समाधान भएपनि विमानस्थल सञ्चालनमा दीर्घकालीन योजनाको खाँचो रहेको सरोकारवालाहरूले बताएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ