काठमाडौँ : नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुमधुर बनाउन र नेपालको पर्यटन प्रवर्द्धन गर्न पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ आज आइतबार देखि सुरु हुँदैछ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने यो प्रतियोगिता पुस १५ गतेसम्म सञ्चालन हुनेछ। फेवातालमा हुने फेस्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडीहरूको सहभागिता हुनेछ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको छ। चीनको छेन्दुबाट चार्टर्ड विमानमार्फत एक सय २९ खेलाडी पुस ११ गते पोखरा आएका थिए। सहभागी टोलीले हाल दैनिक रूपमा फेवातालमा अभ्यास गरिरहेका छन्।
प्रतियोगितामा चीनका आठ, सिङ्गापुरको एक र नेपालका ११ टोली गरी कुल २० टोलीको सहभागिता रहनेछ। नेपाली टोलीमा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएशन (नारा) समेतका टोलीहरू छन्।
प्रतियोगितामा पाँच सय र दुई सय मिटर दौडको प्रतिस्पर्धा हुनेछ। विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ।



