काठमाडौँ : बागमती प्रदेशमा यस वर्ष धान उत्पादनमा १.३७ प्रतिशतले कमी आएको छ। असोज ११ र १२ मा परेको अविरल वर्षा र त्यसपछि आएको बाढीपहिरोका कारण ठूलो क्षति भएको कृषि विकास निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा कुल १ लाख ५ हजार ४ सय १५ हेक्टरमा धानबाली लगाइएको थियो। यस क्षेत्रबाट प्रतिहेक्टर औसत ३.८७ मेट्रिक टनको दरले ४ लाख ८ हजार ३ सय १६ मेट्रिक टन धान उत्पादन भयो। गत वर्ष भने १ लाख ९ हजार १ सय ५१ हेक्टरमा धान लगाइँदा ४ लाख १३ हजार ९ सय ८८ मेट्रिक टन उत्पादन भएको थियो।
चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर र नुवाकोटमा धान उत्पादन बढेको भए पनि मकवानपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक र रामेछापलगायतका जिल्लामा बाढीपहिरोले उत्पादन घटेको छ।
प्रमुख तथ्यांक:
- चितवन: २३ हजार ७ सय हेक्टरमा प्रतिहेक्टर ४.१५ टनका दरले ९८ हजार ३ सय ५५ टन उत्पादन,
- नुवाकोट: ११ हजार ६ सय १५ हेक्टरमा ४.१७ टनका दरले ४८ हजार ३ सय ९० टन,
- काठमाडौँ: ४ हजार ९ सय २४ हेक्टरमा ४.७१ टनका दरले २३ हजार १ सय ९२ टन,
- ललितपुर: ४ हजार १ सय ७८ हेक्टरमा ४.५३ टनका दरले १८ हजार ९ सय २६ टन,
- भक्तपुर: ३ हजार ५ सय ९९ हेक्टरमा ५.५१ टनका दरले १९ हजार ८ सय २३ टन,
तर मकवानपुर (२७ हजार ३ सय ६६ टन), काभ्रे (३१ हजार ३ सय ५४ टन) र सिन्धुपाल्चोक (२३ हजार ६८ टन) जस्ता जिल्लामा बाढीको असरले उत्पादन घटेको छ। रसुवामा धान उत्पादन सबैभन्दा कम २ हजार ४ सय ५१ टन रहेको छ।
बाढीपहिरोका कारण ३७ हजार हेक्टरमा लगाइएको धानबालीमा ५ हजार ६ सय मेट्रिक टन क्षति पुगेको छ। रोग कीराको प्रकोप कम भए पनि प्राकृतिक विपत्तिले उत्पादनमा गिरावट आएको कृषि विज्ञ नवीन कुँवरले बताए।



