काठमाडौं : एनसेलले आगामी दिनमा आफ्नो सेवामा इन्टरनेट सेवा प्रदायक (आईएसपी) जस्तै सब्सक्रिप्सन मोडेल लागू गर्ने योजना सार्वजनिक गरेको छ। बुधबार आयोजित सञ्चारकर्मीहरूसँगको मिट एन्ड ग्रिट कार्यक्रममा कम्पनीले यो प्रस्ताव राखेको हो।
एनसेलका अनुसार, टेलिकम कम्पनीहरूको आम्दानी घट्दै गएको र नेटवर्क सञ्चालन तथा स्तरोन्नतिको लागि आवश्यक लगानी जुटाउन समस्या परिरहेको परिस्थितिमा यो मोडेलले दीर्घकालीन समाधान प्रदान गर्ने विश्वास लिएको छ।
कम्पनीले हालै रिचार्जको वैधता (भ्यालिडिटी) अवधि घटाएको र डेटा प्रयोगकर्ताका लागि ‘सधैं अन’ योजना प्रस्तुत गर्दै आएको छ। यो कदम इनकमिङ कलको निःशुल्क सेवाको दुरुपयोगलाई निरुत्साहित गर्ने उद्देश्यले गरिएको जनाइएको छ।
यसअघि डेटा प्याकेज सकिएपछि ब्यालेन्स कटौती नहुने सुविधा प्रदान गर्ने नीति लागू गरिएको थियो। अब एनसेलले यो मोडेललाई डेटा प्रयोगका साथै भ्वाइस कल र एसएमएस सेवामा समेत विस्तार गर्ने योजना बनाएको छ।
नयाँ प्रणाली अनुसार, ग्राहकले केवल निश्चित समयको सब्सक्रिप्सन खरिद गरेपछि मात्र एनसेल सिमबाट कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न पाउनेछन्।
एनसेलले ग्राहकको खर्चलाई ध्यानमा राख्दै सस्तो मूल्यका प्याकेज उपलब्ध गराउने जनाएको छ। यसले ‘पे एज यु गो’ मोडेललाई क्रमशः विस्थापित गर्ने लक्ष्य राखेको छ।
ग्राहकहरूको आवश्यकता अनुसार आधुनिक सेवा प्रदान गर्न र नेटवर्क स्तरोन्नति गर्न आवश्यक लगानी जुटाउन यो नयाँ मोडेलले टेलिकम क्षेत्रमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ।



