काठमाडौं : सूचना प्रविधि (आईटी) अध्ययन गरिरहेका विद्यार्थीका लागि ल्यापटप अत्यावश्यक उपकरण हो। चाहे प्रोग्रामिङ, ग्राफिक्स डिजाइन, डेटा एनालिसिस वा अन्य कम्प्युटिङ गतिविधि होस्, यी सबै कार्य प्रभावकारी बनाउन एक उपयुक्त ल्यापटपको आवश्यकता पर्छ।
यदि ल्यापटप कमजोर वा आवश्यकताभन्दा कम क्षमताको छ भने अध्ययन र प्राविधिक काममा बाधा पुर्याउन सक्छ। यसैले, ल्यापटप छनोट गर्दा आफ्नो आवश्यकता, बजेट र कामको प्रकृतिलाई ध्यानमा राख्नुपर्छ।
आईटी विद्यार्थीका लागि ल्यापटप किन्दा ध्यान दिनुपर्ने मुख्य पक्षबारे चर्चा गरिएको छ:
१. प्रोसेसर
आईटी विद्यार्थीले धेरै शक्ति र क्षमतायुक्त सफ्टवेयर चलाउनुपर्ने हुन्छ। सामान्य कामका लागि कोर आईफाइभ (i5) वा राइजन फाइभ (Ryzen 5) प्रोसेसर पर्याप्त हुन्छ। तर जटिल प्रोजेक्ट र बहुकार्यका लागि कोर आईसेभेन (i7) वा राइजन सेभेन (Ryzen 7) जस्ता उच्चस्तरीय प्रोसेसर उपयुक्त हुन्छन्।
२. र्याम (RAM)
ल्यापटपमा कम्तीमा १६ जीबी र्याम भएको राम्रो हुन्छ, जसले ग्राफिक्स डिजाइन, भिडिओ एडिटिङ र एकसाथ धेरै सफ्टवेयर चलाउन सहज बनाउँछ। तर बजेट सीमित भएमा कम्तिमा ८ जीबी र्याम अनिवार्य छ।
३. स्टोरेज
आजकल एसएसडी (Solid State Drive) प्रयोग गर्ने प्रवृत्ति बढेको छ। यसले ल्यापटप छिटो र चुस्त बनाउँछ। कम्तीमा ५ सय १२ जीबी एसएसडी भएको ल्यापटप उपयुक्त हुन्छ। धेरै डेटा राख्नुपर्ने विद्यार्थीले एचडीडी (HDD) को विकल्प पनि राख्न सक्छन्।
४. ग्राफिक्स कार्ड (GPU)
ग्राफिक्स डिजाइन, थ्रीडी मोडलिङ वा गेम डेभलपमेन्ट गर्नका लागि डेडिकेटेड ग्राफिक्स कार्ड आवश्यक पर्छ। ४ जीबी भीर्याम भएको मिडरेन्ज जीपीयू पर्याप्त हुन्छ, तर उच्चस्तरीय कामका लागि थप क्षमतायुक्त जीपीयू उपयुक्त हुन्छ।
५. स्क्रिन रेजोलुसन र साइज
उच्च रिजोलुसन र राम्रो कलर एक्युरेसी भएको स्क्रिनले काम सहज बनाउँछ। कम्तिमा फुल एचडी (१९२०x१०८०) रिजोलुसन र १४ देखि १५.६ इन्च साइजको स्क्रिन उपयुक्त हुन्छ। ग्राफिक्स डिजाइन गर्ने विद्यार्थीका लागि आईपीएस प्यानल भएको स्क्रिन रोज्नु राम्रो हो।
६. ब्याट्री लाइफ
लामो समय काम गर्न सक्ने ल्यापटपको ब्याट्री टिकाउ हुनुपर्छ। कम्तीमा ६ घण्टाको ब्याट्री लाइफ भएको ल्यापटप रोज्दा झन्झट कम हुन्छ।
७. कनेक्टिभिटी पोर्ट
यूएसबी ३.०, यूएसबी-सी, एचडीएमआई र इथरनेट पोर्ट जस्ता विकल्प भएका ल्यापटप बढी उपयोगी हुन्छन्।
८. वजन र बोक्न सजिलोपन
ल्यापटप कलेजदेखि अन्य स्थानसम्म बोक्नुपर्ने हुन सक्छ। त्यसैले हल्का र बोक्न सजिलो ल्यापटप छनोट गर्नु उचित हुन्छ।
९. मूल्य र ब्रान्ड
नेपाली बजारमा एप्पल, डेल, एसुस, एचपी, एसर, लेनोभो, एमएसआई जस्ता ब्रान्डका ल्यापटप उपलब्ध छन्। मूल्य ब्रान्ड, मोडेल र सेवाका आधारमा फरक-फरक हुन्छ।
दराज, हुकुट, नियोस्टोर, अलाम टेक जस्ता अनलाइन स्टोरमा यी स्पेसिफिकेसन भएका ल्यापटपको मूल्य ५० हजारदेखि दुई लाख रुपैयाँसम्म छ।
आईटी विद्यार्थीले आफ्नो काम र बजेटअनुसार ल्यापटप छनोट गर्दा माथिका विशेषतामा ध्यान दिनुपर्छ। साथै, किबोर्ड, माउस र हेडफोन जस्ता सहायक उपकरणको पनि ख्याल गर्नु जरुरी छ।



