काठमाडौं : भरतपुर महानगरपालिका वडा नम्बर ७ को नयाँ कार्यालय भवनको शिलान्यास कार्यक्रम मंगलबार सम्पन्न भएको छ। नगर विकास प्लटिङमा निर्माण हुन लागेको तीनतले भवनको शिलान्यास महानगर प्रमुख रेणु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले संयुक्त रूपमा गरे।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले निर्माण व्यवसायीलाई भवन समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न आग्रह गरिन्। साथै महानगरका प्राविधिकलाई निर्माणको अनुगमनमा कडाइ गर्न निर्देशन दिएकी थिइन्।
उनले वडा नम्बर ७ विकासको दृष्टिकोणले अन्य वडाभन्दा अगाडि बढिसकेको बताउँदै हुलाकी राजमार्ग तथा फराकिला सडक निर्माणले वडालाई थप व्यवस्थित बनाएको उल्लेख गरिन्।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेलले भरतपुर महानगरपालिकाले व्यवस्थित र सुविधासम्पन्न कार्यालयमार्फत नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न तिव्रता दिएको जानकारी दिए।
वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले विगत ८ वर्षमा भरतपुरको स्वरूपमा उल्लेखनीय परिवर्तन आएको बताउँदै वडा कार्यालय निर्माण कार्यमा सम्पूर्ण वडावासीलाई निगरानी र सहकार्य गर्न आग्रह गरे।
नयाँ कार्यालय भवन उत्तरगया बिस कौनानी जेभीले निर्माण गर्नेछ। सम्झौता अनुसार निर्माण कार्य आगामी भदौ १ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। भवनमा ११ वटा कोठा र १ सय जनाको क्षमताको बहुउद्देश्यीय हलसमेत निर्माण गरिने जनाइएको छ।



