काठमाडौँ : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफ समीकरण पूरा भएको छ। सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले प्लेअफमा स्थान बनाएका छन्। सोमबार त्रिवि क्रिकेट मैदानमा काठमाडौं गुर्खाजलाई झिनो नेट रनरेटले पछि पार्दै कर्णालीले चौथो स्थान सुरक्षित गर्यो।
अंक तालिकामा सुदूरपश्चिम शीर्ष स्थानमा रहँदा जनकपुर दोस्रो, चितवन तेस्रो र कर्णाली चौथो स्थानमा रहे। प्रतियोगिताबाट काठमाडौं, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स समूह चरणबाटै बाहिरिएका छन्।
सुदूरपश्चिम रोयल्स (जित ६, हार १)
सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गर्यो। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्व र प्रशिक्षक जगत टमाटाको निर्देशनमा टोलीले सातमध्ये छ खेल जित्यो। स्कट कुगेलेइनले १५ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी बने। कप्तान दीपेन्द्रसिंहले १ सय ९८ रन बनाउँदै ब्याटिङमा सानदार प्रदर्शन गरे।
जनकपुर बोल्ट्स (जित ५, हार २)
जनकपुरले प्लेअफको यात्रा सशक्त बनायो। नेपाली खेलाडीहरू आसिफ सेख, अनिलकुमार शाह र ललित राजवंशीको प्रदर्शन निर्णायक रह्यो। ललितले १३ र किशोर महतोले १० विकेट लिए। विदेशी खेलाडी जिमी निसमले उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीलाई बलियो बनाएका थिए।
चितवन राइनोज (जित ४, हार ३)
चितवनको यात्रा उतारचढावपूर्ण रह्यो। सुरुवाती दुई खेल जिते पनि तेस्रो खेलमा हार बेहोरेपछि टोलीले पुनः लय समात्यो। सोहेल तनविर (१२ विकेट) र नेपालका रिजन ढकाल (१३ विकेट) ले बलिङ आक्रमण सम्हाले। रवि बोपाराले २ सय ३३ रन बनाएर सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थान हासिल गरे।
कर्णाली याक्स (जित ४, हार ३)
कर्णालीले अन्तिम खेलसम्म प्लेअफको प्रतीक्षा गर्यो। सुदूरपश्चिमले १२.२ ओभरमा लक्ष्य पूरा गर्न नसकेपछि कर्णाली नेट रनरेटमा शीर्ष चारमा पुग्न सफल भयो। भारतीय खेलाडी शिखर धवनले १ सय ३६ रन बनाए भने विलियम बासिस्टोले १ सय २८ रन र आठ विकेट लिएर कर्णालीलाई पुनः लयमा फर्काए। विपिन शर्माले सात खेलमा नौ विकेट लिए।
यससँगै नेपाल प्रिमियर लिगको पहिलो संस्करणको प्लेअफ समीकरण पूरा भएको छ। अब उपाधिका लागि प्रतिस्पर्धा झन् रोमाञ्चक हुने अपेक्षा गरिएको छ।



