काठमाडौं : ओपनएआईले च्याटजीपीटीको नयाँ र महँगो भर्सन ल्याउने तयारी गरिरहेको छ। कम्पनीले तर्कसहित थप सटीक जवाफ दिनसक्ने ‘च्याटजीपीटी प्रो’ नामक नयाँ संस्करण ल्याउन लागेको हो।
यस भर्सनको लागि मासिक २ सय डलर (करिब २६ हजार रुपैयाँ) शुल्क लाग्ने बताइएको छ। यो सब्सक्रिप्सन लिने प्रयोगकर्ताले ओपनएआई ०१, जीपीटी-फोरओ र एड्भान्स्ड भ्वाइस मोडेलजस्ता फिचरहरू एक्सक्लुसिभ रूपमा प्रयोग गर्न पाउनेछन्।
भुक्तानी गर्ने प्रयोगकर्तालाई झनै स्तरीय उत्तर दिने, अधिकतम कम्प्युट पावर प्रयोग गरी जटिल प्रश्नहरूको समेत सहजै जवाफ दिनसक्ने विशेषता प्राप्त गर्नेछन्। यस मोडेललाई ‘ओवन (O1) प्रो मोड’ भनिनेछ।
त्यस्तै कम्पनीले मासिक २० डलर (करिब २ हजार ६ सय रुपैयाँ) शुल्क तिर्ने प्रयोगकर्तालाई ‘प्लस टायर’ मोडेलका फिचरहरू उपलब्ध गराउनेछ। यस मोडेल प्रयोग गर्ने प्रयोगकर्ताले नयाँ फिचरहरू अरूभन्दा पहिले नै उपयोग गर्न पाउनेछन्।
गत सेप्टेम्बरमा कम्पनीले सीमित प्रिभ्यु सेवासहित ‘ओवन (O1)’ मोडेल सार्वजनिक गरेको थियो, जसलाई ‘स्ट्रबेरी’ कोडनेम दिइएको थियो। यही मोडेलको स्तरीय भर्सनका रूपमा नयाँ ‘प्रो’ मोडेल ल्याउन लागिएको हो।
द भर्जका अनुसार यो नयाँ भर्सन च्याटजीपीटी प्लस र च्याटजीपीटी टिम प्रयोगकर्ताहरूका लागि उपलब्ध भइसकेको छ। आगामी सातादेखि इन्टरप्राइज र एजुकेसन प्रयोगकर्ताले पनि यो फिचर प्रयोग गर्न सक्नेछन्।



