काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। यो भेटवार्ता अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको हो।
भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्रीको नेपाल भ्रमणले दुई देशबीचको लामो समयदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार यस्ता भ्रमणले दुईपक्षीय आपसी सम्बन्धलाई बलियो बनाउनुका साथै आर्थिक र सामाजिक क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्न सक्दछन्।
अध्यक्ष प्रचण्डले नेपालका लागि अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै भने "हामीले कृषिलाई प्राथमिकतामा राखेर ऊर्जा र पर्यटन विकासलाई अगाडि बढाउने नीति लिएका छौं। सूचना प्रविधिलाई सबै क्षेत्रको नेतृत्वमा राखेर मात्र नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास हो। यसका लागि अन्तर्राष्ट्रिय समुदायबाट सहयोग र लगानी महत्वपूर्ण छ।"
त्यसैगरी उनले नेपालमा शान्ति प्रक्रिया राष्ट्रिय सहमतिको आधारमा सफलतापूर्वक सम्पन्न हुँदै गरेको जानकारी दिए। "नेपालको शान्ति प्रक्रियालाई हामीले कुनै राजनीतिक ध्रुवीकरणका रूपमा नभई राष्ट्रिय सहमतिका आधारमा अघि बढाएका छौं। यो हाम्रो लागि मात्र होइन, शान्ति र स्थायित्व चाहने अन्तर्राष्ट्रिय समुदायकै लागि पनि महत्वपूर्ण उपलब्धि हो।" उनले भने।
प्रचण्डले ट्रुथ एन्ड रिकन्सिलिएसन कमिसन (टिआरसी) विधेयक पारित भएपछि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सकारात्मक प्रतिक्रिया प्रति खुसी व्यक्त गरे।
भेटका क्रममा अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएका तनावले नेपालमा पर्न सक्ने असरप्रति आफ्नो गहिरो चासो रहेको बताए। उनले नेपालले शान्ति, स्थायित्व र आर्थिक समृद्धिका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पारे।



