काठमाडौं : नेपालका लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले नयाँ एआई फिचर सार्वजनिक गरेको छ। यस नयाँ फिचरले बिल इन्ट्री गर्ने प्रक्रियालाई अझ छिटो र सहज बनाउने लक्ष्य राख्दै काम गर्दैछ। व्यवसायहरूका लागि बिल इन्ट्री गर्नु एकदमै समय र श्रमखपतको कार्य हो, तर अब टिग एआईले यसलाई झनै सजिलो बनाउने छ।
अबदेखि टिगमा राखिएको बिलहरूलाई एआईले स्वचालित रूपमा सिस्टममा इन्ट्री गर्नेछ। यस फिचरले अकाउन्टिङ क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास राखिएको छ। टिगका सीईओ रमेश केसीका अनुसार "एआई फिचरले केवल समयको बचत मात्र गर्ने छैन, यसले समग्र प्रक्रियालाई सहज र प्रभावकारी बनाउने छ। टिग एआईले भविष्यको अकाउन्टिङको प्रतिनिधित्व गर्नेछ र अकाउन्टेन्टहरूलाई थप सशक्त बनाउनेछ।"
प्रयोगकर्ताहरूले अब बिलहरूको फोटो अपलोड गरेपछि "स्क्यान विथ एआई" बटनमा क्लिक गरेर फिचरलाई प्रयोग गर्न सक्नेछन्। त्यसपछि एआईले बिललाई रिड गरेर स्वतः सिस्टममा राखिदिनेछ। प्रणालीले राखेको विवरण सही छ कि छैन, प्रयोगकर्ताले जाँच गर्न र आवश्यक परेमा मिलाउन सक्नेछन्।
कम्पनीका अनुसार प्रिन्टेड बिलमा ९९ प्रतिशत र हस्तलिखित बिलमा ९५ प्रतिशत एक्युरेसी हुनेछ। म्यानुअल इन्ट्रीको तुलनामा टिग एआईले १ सय १५ गुणा छिटो बिल इन्ट्री गर्न सक्षम बनाउँछ। एक अद्भुत पक्ष भनेको टिग एआईले नेपाली भाषा समेत सपोर्ट गर्छ।
टिगले यस एआई फिचरको माध्यमबाट म्यानुअल डेटा इन्ट्रीको समस्यालाई अन्त्य गर्दै व्यवसायहरूलाई थप समय दिने लक्ष्य राखेको छ। कम्पनीले छिटो र सहज सेवाका लागि सधैं प्राथमिकता दिएको छ, र यो फिचर मात्र सुरुवात हो। भविष्यमा अझै रूपान्तरणकारी एआई फिचर ल्याउने प्रतिबद्धता टिगले जनाएको छ।
टिग क्लाउडमा आधारित एक अकाउन्टिङ सफ्टवेयर हो, जसलाई देशभरका ५ हजार भन्दा बढी साना र मझौला व्यवसायहरूले प्रयोग गर्दै आएका छन्। यसका साथै टिग आईएसओ 270001 सर्टिफाइड कम्पनी पनि हो।



