काठमाडौँ : ढुवानी सेवा र यातायात व्यवस्थापनलाई आधुनिक र डिजिटलीकरण गर्ने उद्देश्यका साथ बुटवलमा ‘ई-ट्रान्सपोर्टेसन सर्भिस’ नामक कम्पनी सञ्चालनमा आएको छ। हालै आयोजित पत्रकार सम्मेलनमा कम्पनीले मोबाइल एपमार्फत प्रदान गरिने सेवाहरूबारे जानकारी गराएको हो।
कम्पनीका प्रबन्ध निर्देशक सन्तोष मण्डलले सवारी साधन व्यवस्थापनलाई सहज बनाउन मोबाइल एपमार्फत सेवा उपलब्ध गराउने उद्देश्य रहेको बताए। उनका अनुसार पहिलो चरणमा सर्भिस भेहिकल्स, मिनी ट्रक, ट्रक र एम्बुलेन्सका साधनहरू एपमा जोडिएका छन्।
मोबाइल एप प्रयोग गरी प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार सवारी साधन बोलाउन सक्ने र ट्रान्सपोर्ट कम्पनीहरूले एपमा निःशुल्क दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
“ई-ट्रान्सपोर्टेसन सर्भिसमार्फत ढुवानी सेवाका लागि सवारी साधन मगाउन सकिने, गाडीको मर्मतका लागि मेकानिक बोलाउन सकिने र पेट्रोल पम्पहरूको स्थान जानकारी पनि उपलब्ध गराइनेछ। साथै, गाडीको कागजपत्र नवीकरण लगायतका विवरण समेत एपमा हेर्न सकिनेछ।” मण्डलले जानकारी दिए।
करीब १ करोडको लागतमा सञ्चालित यो कम्पनीको प्रधान कार्यालय तिलोत्तमा-१३ पत्थरडाँडामा रहेको छ। यस्तै शाखाहरू बुटवल-११ कालिकानगर, तिलोत्तमा-३ योगीकुटी र ओमसतिया-२ पडसरीमा स्थापना गरिएको छ।
कम्पनीले पहिलो चरणमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिका क्षेत्रमा सेवा विस्तार गरेको छ। निकट भविष्यमा काठमाडौँमा पनि सेवा विस्तार गर्ने योजना बनाइएको छ।
अहिलेलाई एम्बुलेन्स सेवालाई विशेष प्राथमिकतामा राखिएको र आगामी दिनमा अन्य स्थानहरूमा सेवा विस्तार गरिने जानकारी कम्पनीले दिएको छ।
यो एपले प्रयोगकर्ताहरूलाई सवारी साधन व्यवस्थापनमा सहजता दिने र ढुवानी सेवालाई थप व्यवस्थित बनाउन महत्वपूर्ण योगदान दिनेछ।



