काठमाडौं : गायिका स्मिता दाहालले वैवाहिक जीवनको नयाँ अध्याय सुरु गरेकी छिन्। शुक्रबार काठमाडौंको गोकर्णस्थित नर्लिङ रिसोर्टमा उनले आफ्ना प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गरिन्।
स्मिता र सायुज्यको सम्बन्ध कलेजदेखि गहिरिँदै आएको थियो। स्मिता नेपालको पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की नातिनी हुन्।
विवाह समारोहमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका उप–महासचिव जनार्दन शर्मा लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
कलाकर्मीहरूको पनि उपस्थिति उल्लेखनीय थियो। अभिनेता हरिवंश आचार्य, किरण केसी, जितु नेपाल, शिव श्रेष्ठ, सन्दीप क्षेत्री लगायतले स्मिता र सायुज्यलाई बधाई तथा शुभकामना व्यक्त गरे।
स्मिता आफ्ना चर्चित गीतहरू ‘मायालु तिमी कता छौ’, ‘कल्लाई था छैन’ जस्ता सिर्जनाका लागि परिचित छिन्।



