काठमाडौँ : कुमारी बैंक र ठमेलस्थित रमदा अन्कोर बाइ विन्डह्याम होटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले होटल तथा रेस्टुरेन्टका खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।
साथै, होटलका विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा ग्राहकलाई किस्ताबन्दीको सुविधा समेत उपलब्ध गराइनेछ । बैंकका अनुसार वार्षिक न्यूनतम १५ हजार रुपैयाँ होटल तथा रेस्टुरेन्टमा खर्च गर्ने ग्राहकले आफ्नो जन्मदिनमा निःशुल्क केक प्राप्त गर्नेछन् । पारिवारिक जमघट तथा विभिन्न कार्यक्रमका लागि केक र कर्केज शुल्कसमेत नलाग्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले एक दिनको कोठा निःशुल्क प्राप्त गर्ने सुविधा पाउनेछन् । ग्राहकलाई लक्षित गर्दै होटलले ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’मा समेत विशेष छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।