काठमाडौं : चीनको लिओनिङ प्रान्तमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। ४७ वर्षीय ली नामका पुरुषले बीमाबाट ठूलो रकम पाउने उद्देश्यले आफ्नी पत्नीको हत्या गरेका छन्। उनलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।
घटना सन् २०२१ को मे महिनामा भएको हो। लीले आफ्नी पत्नीलाई जहाजबाट समुद्रमा धकेलेका थिए। उनले यो घटनालाई दुर्घटना भनेर प्रस्तुत गर्ने प्रयास गरे पनि प्रहरी अनुसन्धानले यसलाई हत्या प्रमाणित गर्यो।
बीमा पोलिसीको लोभ
लीले पत्नीको नाममा ४ वटा जीवन बीमा पोलिसी लिएका थिए। ती पोलिसीहरूमा उनले आफूलाई मात्र लाभार्थी तोकेका थिए। यदि उनकी पत्नीको यात्रा क्रममा मृत्यु भएमा उनले १६ लाख अमेरिकी डलर (नेरु २ अर्ब १६ लाखबराबर) पाउने थिए।
जहाजमा २ सय भन्दा बढी क्यामेरा जडान भए पनि घटना क्यामेराको पहुँच नभएको स्थानमा भएको थियो। फोरेन्सिक जाँचले महिलाको अनुहारमा चोटको निसान देखाएको थियो।
प्रहरीले लीको गतिविधिमाथि निगरानी राख्दै प्रमाण जुटायो। जहाजको रिमोट क्यामेराको फुटेजमा कालो बाहुला देखिएको थियो, जुन लीले लगाएको कालो सुटसँग मेल खायो। पक्राउपछि प्रहरीले बीमा रकम पाउनकै लागि उनले हत्या गरेको तथ्य बाहिर ल्यायो।
विवाह र आर्थिक समस्या
ली एउटा रेस्टुरेन्ट चलाउँथे। तर उनी आर्थिक समस्यामा थिए र प्रायः आफ्ना कर्मचारी तथा सामान आपूर्तिकर्तालाई भुक्तानी गर्न असमर्थ थिए। उनले २०२० मा दुईपटक सम्बन्धविच्छेद गरिसकेकी दुई सन्तानकी आमासँग विवाह गरेका थिए। विवाहको २ महिनापछि उनले बीमा पोलिसी खरिद गरेका थिए।
अदालतको फैसला
अदालतले बीमा रकम प्राप्त गर्न पत्नीको हत्या गर्नु ठगी र मानवताको गम्भीर उल्लंघन भएको ठहर गर्यो। अन्ततः लीलाई मृत्युदण्डको सजाय सुनाइएको छ।
यो घटना पैसाको लोभले कस्तो क्रूर अपराध गराउन सक्छ भन्ने एउटा उदाहरण बनेको छ।



