काठमाडौं: आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनः वितरण सुरु भएसँगै उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षणलाई तीव्रता दिएको छ।
हालै १६ वटा खानेपानी वितरण सञ्जाल (डीएमए) अन्तर्गतका ५ सय ७४ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ।
मेलम्ची उप-आयोजना २ अन्तर्गत काठमाडौं उपत्यकामा त्रिभुवन विश्वविद्यालय र कीर्तिपुर क्षेत्र सहित ३३ वटा खानेपानी वितरण सञ्जालका ९ सय ८० किलोमिटर पाइपलाइन विच्छ्याइएको थियो।
यसमध्ये ५ सय ७४ किलोमिटर नयाँ पाइपलाइनको परीक्षण पूरा भइसकेको छ। परीक्षण सम्पन्न भएका सञ्जालहरूको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ।
यसअघि पहिलो र दोस्रो चरणमा १४ वटा वितरण सञ्जालका ३ सय ५० किलोमिटर पाइपलाइन परीक्षण गरी बोर्डलाई हस्तान्तरण गरिएको थियो। अब काठमाडौंका सुन्धारा र न्यूरोड क्षेत्रका बाँकी ३ वटा सञ्जालका ५६ किलोमिटर पाइपलाइनको परीक्षण डिसेम्बर महिनाभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ।
निर्देशनालयले हालसम्म १ हजार १० किलोमिटर नयाँ पाइपलाइन विच्छ्याइसकेको छ। यस्तै ६० हजार ८ सय ३१ नयाँ मिटर जडान गरिसकिएको छ।
खानेपानी वितरण प्रणालीमा चुहावटको समस्या न्यून रहेको र उपत्यकामा खानेपानीको पहुँचलाई थप व्यवस्थित गर्न यो कामले महत्वपूर्ण योगदान पुर्याएको पीआईडीले जनाएको छ।



