२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

इन्टरनेट क्षेत्रमा क्रान्तिको तयारी: मेटाले समुन्द्रमुनि ४० हजार किलोमिटर अप्टिकल फाइबर बिछ्याउने

images

  • २०८१ मंसिर १७, सोमबार
  • 2.2K
    SHARES
  • इन्टरनेट क्षेत्रमा क्रान्तिको तयारी: मेटाले समुन्द्रमुनि ४० हजार किलोमिटर अप्टिकल फाइबर बिछ्याउने

    काठमाडाैं : फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता विश्वप्रसिद्ध एपहरूको अभिभावक कम्पनी मेटाले इन्टरनेट पूर्वाधारमा क्रान्तिकारी कदम चाल्दै समुन्द्रमुनि ४० हजार किलोमिटर लामो फाइबर अप्टिक केबल नेटवर्क निर्माणको योजना सार्वजनिक गरेको छ।

    मेटाले पहिलो चरणमा करिब दुई अर्ब अमेरिकी डलर (करिब २.६ खर्ब रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ। परियोजना पूर्णत: सम्पन्न हुँदा लागत १० अर्ब अमेरिकी डलर (साढे १३ खर्ब रुपैयाँभन्दा बढी) पुग्ने अनुमान गरिएको छ।

    यो केबल नेटवर्क पूर्वी अमेरिकाबाट सुरु भई भारत, दक्षिण अफ्रिका हुँदै अष्ट्रेलियाबाट फर्केर पश्चिमी अमेरिकासम्म फैलिनेछ। यो मार्ग रणनीतिक रूपमा सुरक्षित बनाइने र विभिन्न भू-राजनीतिक संकटलाई ध्यानमा राखी निर्माण गरिनेछ।

    मेटाको उद्देश्य:
    यस परियोजनाले मेटालाई आफ्नै डेटा रुट उपलब्ध गराउनेछ, जसले कम्पनीलाई उच्चस्तरीय इन्टरनेट सेवा प्रदान गर्न र भू-राजनीतिक अवरोधबाट जोगिन मद्दत गर्नेछ। यसले मेटालाई केवल सोसल मिडिया कम्पनीका रूपमा मात्र नभई विश्वकै प्रमुख इन्टरनेट पूर्वाधार कम्पनीका रूपमा स्थापित गर्ने योजना रहेको देखिन्छ।

    विश्वव्यापी प्रभाव:
    हाल मेटाका विभिन्न प्लेटफर्महरूले १० प्रतिशत फिक्स्ड इन्टरनेट ट्राफिक र २२ प्रतिशत मोबाइल ट्राफिक ओगट्ने गरेको छ। यो परियोजनाले नेटवर्कको क्षमता र प्रभावकारिता दुवैलाई अभूतपूर्व रूपमा बढाउने अपेक्षा गरिएको छ।

    यो महत्वाकांक्षी परियोजनाको रुट, क्षमता र उद्देश्यको विस्तृत जानकारी सन् २०२५ मा सार्वजनिक हुने बताइएको छ। केबल निर्माण र सञ्चालनमा अझै केही वर्ष लाग्न सक्नेछ। परियोजना सफल भएमा यसले इन्टरनेट सेवाको गुणस्तरमा ऐतिहासिक सुधार ल्याउनेछ।

    मेटाको यो योजना सफल होला या नहोला त्यसको उत्तर भने केवल समयले नै दिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ