२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विदेशमा सुनौलो भविष्यको सपना, तर काम र कोठाको अभाव

images

  • २०८१ मंसिर १३, बिहीबार
  • 1.5K
    SHARES
  • विदेशमा सुनौलो भविष्यको सपना, तर काम र कोठाको अभाव

    काठमाडौँ : रामेछापका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत झरेको केही समयमै यथार्थले उनलाई झस्काएको छ। परिवार र साथीभाइको बधाईपछि खुसीका साथ बेलायत आएका कार्कीले यहाँ आएर अपेक्षाभन्दा फरक अवस्थाको सामना गर्नुपरिरहेको छ। अध्ययन र खर्च व्यवस्थापनका लागि काम खोज्नुपर्ने चिन्ताले उनलाई सताइरहेको छ।

    कार्कीका आफन्त लक्ष्मी दुलालका अनुसार पछिल्ला दिनहरूमा बेलायतमा नेपाली विद्यार्थीका लागि काम पाउन निकै कठिन भएको छ। “काम पाउनै गाह्रो छ, अनि कलेज र कामको समय मिलाउन झनै सकस” उनले भनिन्।

    सस्तो कोठा र कामको खोजीमा भौतारिरहेका अन्य विद्यार्थीहरूको पनि स्थिति उस्तै छ। नयाँ आएका विद्यार्थी सुयोग गिरी र दीपक यादवले नेपाली समुदायसँग कोठा खोज्न सहयोग मागेका छन्। महँगो कोठा र न्यून पारिश्रमिकले विद्यार्थीलाई थप आर्थिक दबाब सिर्जना गरिरहेको छ।

    बेलायतमा पढ्न आएका धेरै विद्यार्थीले शैक्षिक परामर्शदाता कम्पनीका आश्वासनमा भर परेर आउने गरेका छन्। तर काम पाउने सम्भावना, विश्वविद्यालयको अवस्था, बसोबासको स्थिति आदिबारे सोचविचार नगरी आउने बानीले उनीहरूलाई मानसिक समस्यामा पारेको छ।

    समस्या कहाँनेर छ?
    नेपाली समाज वेस्टमिडल्याण्डका अध्यक्ष भीम शर्माका अनुसार बेलायत आउने विद्यार्थीहरूले आधारभूत तयारी नगर्दा समस्या झनै गहिरिएको छ। “भिसा लागोस्, बाँकी सोचौंला” भन्ने प्रवृत्तिले विद्यार्थीलाई अप्ठेरोमा पारिरहेको छ।

    सामाजिक सञ्जालमा सहयोग माग्दै विद्यार्थीहरूले आफूले भोगेको समस्या सुनाउन थालेका छन्। धेरै विद्यार्थीले २० घण्टा काम गरेर शुल्क तिर्ने र नेपालमा पैसा पठाउने योजना बनाउँछन्। तर यो योजना धेरैका लागि अव्यावहारिक सावित भइरहेको छ।

    सुझाव र समाधान
    शैक्षिक परामर्शदाता संस्थाहरूले विद्यार्थीलाई सही जानकारी दिनु र विद्यार्थीहरूले विश्वविद्यालय छनोटदेखि आर्थिक व्यवस्थापनसम्मको उचित योजना बनाउनुपर्छ।
    विदेश जानुअघि सो क्षेत्रको रोजगारी, बसोबास र खर्चको यथार्थ बुझेमा यस्तो समस्या न्यून हुन सक्छ।

    विदेशमा पढ्न चाहनेले अध्ययनलाई प्राथमिकतामा राखी योजनाबद्ध रुपमा अघि बढ्न आवश्यक छ। यथार्थ जानकारी र मानसिक तयारीबिना लहडमा विदेश जानु केवल समस्याको ढोका खोल्नुजस्तै हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ