काठमाडौँ : देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसारआज बिहीबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। विशेष गरी तराई र पहाडी क्षेत्रका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।
बिहीबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनसक्ने अनुमान गरिएको छ। बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। साथै यी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बिहीबार राति पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनसक्नेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ।



