काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०८१ साल मंसिर ७ गते बसेको संचालक समितिको ४ सय ६९ औ बैठकले श्री प्रमेश राज कायस्थलाई मसिर ९ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।
करिव १४ वर्षदेखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आउनु भएका प्रमेश राज कायस्थ हाल बैंकको प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ। वित्त व्यवस्थापन, रणनीतिक योजना तथा धितोपत्र बजार सम्बन्धी विषयमा उहाँको दक्षता रहेको छ। हाल उहाँ बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडको संचालक पनि हुनुहुन्छ।
डिजिटल बैकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै सिटिजन्स बैंकले हालसालै फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड 'सिटिजन्स फोनपे क्रेडिट कार्ड' सार्वजनिक गरेको छ। भौतिक कार्डको आवश्यकता नपर्ने र रु २ लाख ५० हजार सम्मको क्रेडिट सीमा उपभोग गर्न पाउने यो कार्ड मार्फत ग्राहकहरूले QR कोड स्क्यान गरेर किनमेल गर्न, नेपाल भित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सक्नेछन ।
भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोवाइल बैंकिङ एप्लिकेशन मार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोवार गर्न सक्दछन्। साथै बैंकले ग्राहकहरुको स्वास्थ्य र सुविधा लाई मध्यनजर गर्दै नयाँ बचत योजना 'हेल्थ एण्ड वेल्थ बचत खाता' को पनि सुरुवात गरेको छ।
बचतकर्तालाई प्रतिफलस्वरूप उच्च व्याजदर साथसाथै स्वास्थ्य जाँच गरी आफ्नो स्वास्थ्यबारे सजग रहन प्रेरित गर्ने अभिप्रायका साथ बैंकले यो योजना ग्राहकमाझ ल्याएको हो। यस योजना अन्तर्गत खाता खोल्दा ग्राहकले वर्षको एकपटक निःशुल्क होलबडी चेकअपसँगै पाँच पटक स्किनसम्बन्धी कन्सलटेसन, दुईपटक दाँत र एकपटक आँखासम्बन्धी कन्सलटेसन गर्न पाउनेछन्।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।



