काठमाडौं : सार्वजनिक यातायातमा नगद भुक्तानीको झन्झट हटाउँदै फिनटेक इन्टरनेसनल प्रालिले प्रिपेड कार्डमार्फत भाडा सङ्कलन गर्ने नयाँ डिजिटल प्रणाली सुरु गरेको छ। मङ्गलबार आयोजित एक कार्यक्रममा यो प्रणालीको सुरुवात गरिएको हो।
यस प्रणालीले यात्रुहरूलाई नगदको सट्टा कार्डबाट सहज, सुरक्षित र पारदर्शी भुक्तानीको सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालको वित्तीय र सार्वजनिक यातायात क्षेत्रलाई डिजिटल रूपमा आधुनिकीकरण गर्न यो प्रविधिले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले भने "सार्वजनिक यातायातलाई डिजिटल भुक्तानीसँग जोड्नु नागरिकको जीवनमा सहजता ल्याउनु हो। यसले पारदर्शिता र जवाफदेहितालाई प्रोत्साहन गर्छ।"
फिनटेक इन्टरनेसनलका सीईओ अमित श्रेष्ठका अनुसार सुरुमा रिद्धीसिद्धी यातायात र मत्स्य राजधानी यातायात प्रालिबाट यो सेवा सुरु गरिएको हो। भविष्यमा १७ वटा समितिका करिब एक हजार बसहरूमा यो प्रणाली लागू गर्ने योजना रहेको छ।
विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्ने सरकारी पहल
बागमती प्रदेश सरकारले विद्युतीय भाडा भुक्तानी नियमावली २०७८ जारी गरिसकेको छ। त्यस्तै सङ्घीय सरकारले संघीय राजधानी यातायात प्राधिकरण गठन गरी यो क्षेत्रमा डिजिटल सेवाहरूलाई अघि बढाएको छ। यो पहलले नगदमा निर्भरता घटाउने र सार्वजनिक यातायात प्रणालीलाई आधुनिक बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
यो नयाँ प्रणालीले नेपाली यातायात क्षेत्रमा डिजिटल रूपान्तरणको दिशामा ऐतिहासिक कदम चालेको मान्न सकिन्छ। यात्रीहरूको सुविधाका साथै यसले सार्वजनिक सेवाको दक्षता र पारदर्शितामा सुधार ल्याउनेछ।



